बहुउपयोगी टिमुरको महत्व



नेपालको महाभारत पर्वत शृङ्खलाको १२०० देखि २५०० मिटरसम्मको उचाइमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ ।बोटभरि नै केही चेप्टो परेको तिखा काँडा हुन्छन् । टिमुरको डाँठको दुवैतिर स–साना दुईदेखि छ जोडीसम्म तिखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।

टिमुरको फल स–साना, राता, चारदेखि पाँच मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्प¥याउने हुन्छ । यी फलहरुबाट बास्ना पनि आउँछ । काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकिसकेपछि रातो रंगमा परिणत हुन्छ । धेरै पाकेमा फल आफैं फुट्छ र भित्रको कालो रंगको बियाँ बाहिर निस्किन्छ ।नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ । विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको विकार फाल्न, जैविक विषादी बनाउनसमेत टिमुरको प्रयोग गरिन्छ । यसको फल, रुखको बोक्रा, फूललगायत सबै भागलाई दन्तमञ्जन, साबुन, अत्तर आदि बनाउनको लागि प्रयोग गरिन्छ ।

मन–मस्तिष्क, पागलपन, रगतसम्बन्धी समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । बाथ, अर्बुद, उदररोग, आँखा, कान र ओठको रोग, शिरको बोझ, दम, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ । सामान्यतया वयष्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ । टिमुरको प्राचीनकालदेखि नै बहुउपयोग हुँदै आएको छ ।
-शोभा कार्की, कास्की 

प्रतिक्रिया दिनुहोस्