गर्मीमा सरुवा रोगको समस्या



देशैभरि गर्मी शुरु भएको छ । धूलो–धुवाँका कारण यसै पनि सर्वसाधारण बिरामी भइरहेकै छन् । गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेंगु, हेपाटाइटिसलगायतका बिरामी बढ्ने गर्छन् । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडोको मौसममा भन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले धेरैलाई सताउने गर्छ ।

गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान र पानी नै हो । त्यसैले बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्न सक्छ । खाना राख्ने तथा खाने भाँडा फोहोर भएर पनि रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोई खानुहुँदैन । यसै गरी सागसब्जी तथा सलाद पनि सफा पानीले पखालेर मात्र खाने गर्नुपर्दछ । यो मौसममा झिँगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ । यो मौसममा रोगहरु फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी पिउनु जरुरी छ । हल्का, खुकुलो र छरितो लुगा, सनग्लास, घामबाट छालाको सुरक्षा गर्ने क्रिम आदिको प्रयोग आवश्यक छ । घाममा छाता ओढेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैँसँग बोकेर हिँड्ने जस्ता धेरै उपाय अपनाएर पनि गर्मीमा लाग्ने रोगबाट बच्न सकिन्छ ।

गर्मी मौसममा थोरै खाए पनि अपच हुने हुन्छ । त्यसैले एकैपटक धेरै खानेकुरा नखाने, बिस्तारै समय–समयमा थोरै–थोरै खाइरहने, पानी प्रशस्त पिउने गर्नुपर्दछ । बरफयुक्त र गुलियो पेयले झन् छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु उपयुक्त हुन्छ । गर्मी भयो भनेर गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल खानु बिमारी हुने खतरा बढाउनु हो । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा सकेसम्म खानुहुँदैन ।

टाइफाइड:

यो मौससमा धेरैमा टाइफाइड देखिने गर्छ । शुरुमा भाइरलका रुपमा सामान्य ज्वरो आए पनि लामो समयसम्म उपचार गर्दा भाइरल टाइफाइडको समस्या देखिने गर्छ । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ ।
दूषित पानी र खाद्यपदार्थ खाँदा लाग्ने यो रोगका जीवाणु प्रायः गर्मी र बर्खायामको समयमा बढी क्रियाशील हुने गर्छन् । नेपालको सन्दर्भमा यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका बालबालिका प्रभावित हुने गरेको देखिएको छ । यसले मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिंगटा लाग्ने, वाकवाकी लागी कसै–कसैलाई बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ ।
झाडापखाला:

यो मौसममा देखिने पानीजन्य अर्को सरुवा रोग झाडापखाला हो । वर्षाको समयमा हामीले खाने धेरैजसो पानी दूषित हुने हुँदा झाडापखाला देखिने गर्छ । शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखाला देखिने गर्छ । यस मौसममा खानेपानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखाला धेरै देखिने गर्छ ।

हेपटाइस ए,बी:

हामीले खानेकुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपाटाइस ए, बी अर्थात् जन्डिस हो । बासी खानेकुरा र दूषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ । शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाने गर्दा पनि धेरैलाई जन्डिस देखिने गर्छ । शुरुमा ज्वरो आउने शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।

आउँ:

हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसममा धेरैलाई आउँ देखिने गर्छ । पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने अनि लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । अन्त्यमा शरीरका महत्वपूर्ण अंगहरूले काम गर्न छोड्छन् । त्यसैले यस मौसममा आउँबाट बच्न हामीले खानेपानी र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । वर्षातको मौसममा अझ बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुन्छ । हामीले खानेपानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।वर्षातमा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानी नपिउनु हो । अर्को यस मौसममा बासी खानेकुरा र काँचो खानेकुरा खानुहुँदैन । घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्नुपर्छ । यस्तै यो मौसममा देखिने कीटजन्य रोगहरूबाट बच्न घरबाहिर निस्कँदा बाक्लो कपडा लगाउने, धरै झाडी भएको ठाउँमा नजाने गर्नुपर्छ ।
– असिम देवकोटा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्