ई–लाइब्रेरी सेवामा फड्को मार्दै त्रिवि



विजय शर्मा

देशमा प्रजातन्त्रको स्थापनासँगै उच्च शिक्षाका लागि छुट्टै विश्वविद्यालयको आवश्यकता महसुस हुन गयो । फलस्वरुप वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको जन्म भयो । त्यसपछि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षा प्रदान गर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुन गयो । हालसम्म त्रिभुवन विश्वविद्यालयका ६२ वटा आङ्गिक क्याम्पस, एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस, चारवटा अनुसन्धान केन्द्र र एउटा केन्द्रीय पुस्तकालय रहेका छन् । यस विश्वविद्यालयले देशका सतहत्तर जिल्लामा नै आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । देशको उच्च शिक्षाको ७० प्रतिशतभन्दा बढी भार त्रिभुवन विश्वविद्यालयले नै बहन गरेको देखिन्छ ।त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै पुस्तकालयको पनि स्थापना भई सेवाको शुरुवात गरिएको थियो ।

केही थान पुस्तक र दुईवटा कोठाबाट शुरुवात भएको केन्द्रीय पुस्तकालय सेवा अहिले नेपालकै ठूलो पुस्तकालयको रुपमा परिचित हुन पुगेको छ । यसलाई ठूलो भन्नुका आधारहरुमा उपलब्ध सङ्कलन सामग्री, दैनिक आउने पाठक संख्या, कार्यरत कर्मचारी संख्या, ई–रिसोर्सेस सेवा नै हुन् । यो पुस्तकालय विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा कर्मचारीहरुमा मात्र परिचित नभई स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुमा पनि सुपरिचित रहँदै आइरहेको पाइन्छ ।यस पुस्तकालयका सम्बन्धमा बनेको विनियम २०३० अनुसार थप जिम्मेवारीका साथत्रि.वि. केन्द्रीय पुस्तकालय नामाकरण हुन गयो । केन्द्रीय विभागमा मात्र सीमित रहेको पुस्तकालय अन्य क्याम्पसहरुका पुस्तकालयहरुको अनुगमन गर्ने तथाप्राविधिक सरसल्लाह दिने साथै सर्वसाधारण अनुसन्धानकर्तालाई पनि सेवा दिने दायित्व थपियो ।
स्थापनाकालदेखि नै पाठक सेवामा समर्पित केन्द्रीय पुस्तकालयले समयको मागअनुसार आधुनिक प्रविधिको प्रयोगका साथ पाठक सेवालाई प्रभावकारी बनाउन तल्लीन रहेको छ । नेपालको बारेमा प्रकाशन भएका पुस्तकलाई विश्वव्यापीरुपमा पाठकहरुमा जानकारी गराउनका लागि सन् १९९२ देखि अटोमेसनकोशुरुवात गरियो ।

अहिले एक लाख पचास हजारभन्दा बढी पुस्तकहरु अटोमेसन भइसकेका छन् । तथापि सीमित स्रोत–साधन तथा कर्मचारीको अभावका कारण सम्पूर्ण सङ्कलनलाई अटोमेसन हुन नसकेको दुःखद अवस्था छ । अटोमेसनभन्दा पहिला नै जापान सरकारको सहयोगमा पुस्तकालयमा सङ्कलित महत्वपूर्ण र दुर्लभ सामग्रीहरुको माइक्रोफिल्म गर्ने कार्य भएको थियो । यद्यपि विकसित प्रविधिमा उक्त डाटाहरु स्थानान्तरण गर्न नसकेका कारण माइक्रोफिल्महरु अहिले ऐतिहासिक मात्र भएका छन् ।पछिल्लो समय पाठकहरूको बढ्दो विद्युतीय अध्ययन सामग्रीप्रतिको मोहलाई मध्यनजर गर्दै सन् २००३ देखि नै पुस्तकालयले ई–रिसोर्सेस सेवा प्रदान गर्न शुरुवात गरेको हो ।जसमा आईएनएएसपी, युके नामक अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा सन् २०१० सम्म निःशुल्क अनलाइन रिसोर्सेसहरु उपलब्ध भएको थियो । त्यसैगरी केही समयपछि विश्वविद्यालय अनुदान आयोग आर्थिक सहयोगमा खरिद गरेरै भएपनि २०१८ सम्म विश्वमा प्रचलित ई–रिसोर्सेसका डाटाबेसहरुमार्फत सेवा प्रदान गरेको पाइन्छ । यसबाट नेपालका विद्वान् वर्गहरूलाई अन्तर्राष्ट्रिय जर्नलका लेख–रचना प्रयोग गर्ने सुविधा उपलब्धभएको थियो । यी डाटाबेसहरु त्रिभुवन विश्वविद्यालयमा मात्र सीमित नगरी देशका अन्य शैक्षिक संस्थाहरुलाई पनि आई.पी.मार्फत उपलब्ध गराइएको थियो ।पुस्तकालयमा भएको सीमित आर्थिक स्रोतका कारण अनुदान सहयोगविना त्यस्ता डाटाबेसहरु खरिद गरी निरन्तरता दिनु अत्यन्त चुनौतीपूर्ण कार्य हो ।

गतवर्षदेखि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीको प्रभावबाट शैक्षिक संस्थाहरु पनि अछुतो रहन सकेनन् । तर यो क्षेत्रलाई नयाँ प्रविधिको प्रयोग गर्ने अवसर भने दियो । जसअनुरुप त्रि.वि.ले पनि माइक्रोसफ्टको सहयोगमा आफ्ना प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा कर्मचारीहरुकोअफिसियल ईमेलहरु तयार ग¥यो । माइक्रोसफ्टको टिम एप्लिकेसनमार्फत अनलाइनबाटै अध्ययन, अध्यापन कार्यहरु पनि सञ्चालन भए । शैक्षिक संस्थाको रक्तसञ्चारको रुपमा मानिने पुस्तकालयलाई पनि पाठकहरुको घर–घरमा पु¥याउनुपर्छ भन्ने लक्ष्य लियो । सोही अनुसार ई–पुस्तकालयको विस्तारको योजना पनि बनायो । बन्दाबन्दीको अवस्थापछि भौतिकरूपमा पाठकहरूलाई अध्ययन सेवा प्रदान गर्न असमर्थ रहेको पुस्तकालयले २०७७ मंसिरदेखि रिमोट एक्सेससेवा शुरुवात ग¥यो । योत्रि.वि.मा नयाँ प्रविधिको प्रयोग हो । यसलाई विश्वविद्यालयले विपतलाई अवसरको रुपमा प्रयोग गर्दै नयाँ प्रविधिमा फड्को मारेको राम्रो उदाहरणका रुपमा लिन सकिन्छ ।
विश्वविद्यालयले शुरुवात गरेका रिमोट एक्सेस सिस्टममा जोडिनका लागि त्रि.वि.का पाठकका हकमा केन्द्रीय पुस्तकालयको वेबसाइट डब्लुडब्लुडब्लु डट टीयुसीएल डट ओआरजी डट एनपीमा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ ।

फाराममा इमेल ठेगाना राख्दा अनिवार्यरुपमा विश्वविद्यालयले प्रदान गरेको अफिसियल इमेल राख्नुपर्छ । त्रि.वि. केन्द्रीय पुस्तकालयबाट फाराम भरेको २४ घण्टाभित्र उक्त इमेलमा पासवर्डपरिवर्तन गर्न इमेल आउँछ । उक्त प्राप्त निर्देशनअनुसार पासवर्ड परिवर्तन गरी उपलब्ध डाटाबेसहरु प्रयोग गर्न सकिन्छ ।त्यसैगरी अन्य विश्वविद्यालय, सामुदायिक क्याम्पस तथा कलेजहरुले पनि उक्त रिमोट एक्सेसमार्फत डाटाबेसहरु प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि अन्य विश्वविद्यालय तथा क्याम्पसहरुले संस्थागतरुपमा सम्झौता गरी पाठकहरुको इमेल त्रि.वि.केन्द्रीय पुस्तकालयमा पठाउन सक्नुहुनेछ । अन्य विश्वविद्यालयका हकमा एक लाख वार्षिक शुल्क र प्रतिपाठक वार्षिक २ सय रुपियाँ लाग्छ भने क्याम्पसको हकमा वार्षिक शुल्क ५ हजार र प्रतिपाठक २ सय लाग्नेछ ।शुरुवातको चारमहिनामा नै त्रि.वि.का ३ हजारभन्दा बढी पाठकहरु जोडिइसक्नुभएको छ तर यो संख्या अपेक्षाभन्दा अत्यन्त न्यून हो । त्यसैगरी नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इन्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पसका पाठकहरु पनि संस्थागतरुपमा जोडिएका छन् । साथै अन्य विश्वविद्यालय, क्याम्पस, कलेजलगायतका शैक्षिक संस्थाहरुले पनि प्रयोग गर्न उत्सुकता जगाएको पाइन्छ । अनलाइन पुस्तकालय सेवालाई देशव्यापीरुपमा विस्तार गर्न सकेमा धेरै पाठक लाभान्वित हुने भरोसा गर्न सकिन्छ । साथै ज्ञान सामग्रीहरुको पनि भरपुर प्रयोग हुनेमा त्रि.वि. विश्वस्त रहेको देखिन्छ ।

पुस्तकालयले खरिद गरेको प्रोक्वेस्ट बहु विषयलाई समेटेको डाटाबेस हो । यस डाटाबेसभित्र ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारै शीर्षकका जर्नल, म्यागजिन तथा रिपोर्टहरु रहेका छन् । जसमा पाठकहरुलाई आवश्यकताअनुसार पढ्न, डाउनलोड, प्रिन्ट, सेभ गर्नलगायतका प्रावधानहरु पनि राखिएको छ ।उक्त डाटाबेसबाटै साइटेसन तथा रिफरेन्सका लागि इन्डनोट, रेफोर्डजस्ता रेफरेन्स म्यानेजमेन्ट टुल्सहरु पनि प्रयोग गर्न सकिन्छ ।पुस्तकालयले स्वदेशी तथा विदेशी संघसंस्थाहरुसँग सहकार्य गरी पाठक सेवालाई विगतदेखि नै प्रभावकारी बनाउँदै आइरहेको छ ।एसियन डेभलपमेन्ट बैंक रनेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य पछिल्लो उदाहरणहरु हुन् ।यसबाट विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्तारूले सहजैै ए.डी.बी.का तीन लाखभन्दा बढी डिजिटल सामग्रीहरू प्रयोग गर्न सक्नेछन् ।त्यसैगरी नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग भएको साझेदारीअनुसार रिसोर्सेसहरू शेयर गर्ने र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । द्विपक्षीय साझेदारीअनुरूप पहिलो चरणमा त्रि.वि.का १५ हजार प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा कर्मचारीहरूलाई डिजिटल लाइब्रेरीका कलेक्सनहरू प्रयोग गर्न दिनेछ ।एक हजार पाठकहरु यस डिजिटल लाइब्रेरीमा जोडिइसकेका छन् ।

यस डिजिटल लाइब्रेरीमा विद्यालय तहदेखि विश्वविद्यालय तह तथा अनुसन्धानकर्ताहरुका लागि आवश्यक विभिन्न विषयका करोडौंसंकलनहरु रहेका छन् । जसमध्ये ३५ करोडभन्दा बढी लेख–रचना, ७० लाखभन्दा बढी थेसिस, ६० लाखभन्दा बढी पुस्तकका साथै हजारौंको संख्यामा अडियो÷भिडियो लेक्चर तथा परीक्षासँग सम्बन्धित प्रश्नपत्रहरु रहेका छन् । त्रि.वि.को रिमोट एक्सेस सिस्टममा जोडिएका प्राध्यापक तथा अनुसन्धानकर्ताहरुलाई यो डिजिटल लाइब्रेरीमा पनि प्रयोगको सुविधा दिइन्छ ।पाठकहरुलाई ब्रिटिस काउन्सिलका समस्त डिजिटल कलेक्सनहरू प्रयोग गराउन काउन्सिलको सहयोगमा पुस्तकालयभित्र दुईवटा आइप्याडसहित एक्टिभ क्यु.आर.कोडसहितको एक डिजिटल वाल जडान गरिएको छ । जसमा १० हजारभन्दा बढी रिसर्च जर्नल, ४ हजारभन्दा बढी अनलाइन पत्रपत्रिका, एक हजारभन्दा बढी ई–बुक, अवार्ड जित्न सफल फिल्म तथा डकुमेन्ट्रीहरु, क्षमता अभिवृद्धि तथा हास्यव्यङ्ग्यसँग सम्बन्धित स्रोत सामग्रीहरु पनि रहेका छन् । त्यसैगरी जस्टोर र प्रोजेक्ट म्युजजस्ता डाटाबेसका साथै अन्य निःशुल्क उपलब्ध हुने डाटाबेसहरुबाट पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । तर यसको प्रयोगका लागि भने पाठकहरु पुस्तकालयमा नै आउनुपर्ने बाध्यता भने रहेको छ ।

केन्द्रीय पुस्तकालयसँग बढ्दो पाठकहरुको विश्वसनीयतालाई कायम राख्नका लागि पुस्तकालयको आफ्नै छुट्टै ई–लाइब्रेरीको डाटाबेस बनाउने योजना पनि रहेको पाइन्छ । यसबाट नेपालका अध्ययन सामग्रीहरु अनलाइनमा कम पाइने भन्ने पाठकहरुको गुनासोहरु सम्बोधन हुने विश्वास पनि गर्न सकिन्छ । हुन त केन्द्रीय पुस्तकालयले स्नातकोत्तर तह, दर्शनाचार्य (एम.फिल.) र पी.एच.डी. तहका थेसिसहरुलाई अनलाइनमा राखी ई–लाइब्रेरी निर्माण शुरुवात गरिसकेको पनि छ । जसमा हालसम्म १६ सयभन्दा बढी फुल टेक्सथेसिस डिजर्टेसनहरु अपलोड भइसकेको छ । यसलाई पाठकहरुले अनलाइनबाट नै हेर्न, डाउनलोड गर्न सकिन्छ । त्यसका साथै नेपालबाट प्रकाशन हुने जर्नलहरुको डाटाबेस नेप्जोलको पनि विस्तार गर्दै आइरहेको छ । जहाँ २१५ भन्दा बढी जर्नलहरुका लेख–रचनाहरु हेर्न र डाउनलोड गर्न सकिन्छ । जसबाट केन्द्रीय पुस्तकालयको अब छिटै पुस्तक, थेसिस, डिजर्टेसन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजहरुसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बन्नेमा आशा गर्न सकिने आधारहरु भने देखिन थालेको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयले केन्द्रीय पुस्तकालयमार्फत नै प्लेजिअरिजम चेक सफ्टवेयर खरिद गर्ने योजना पनि बनाएको पाइयो । यसबाट विश्वविद्यालयमा बढ्दै गइरहेको बौद्धिक चोरीको समस्यालाई निरुपण हुने आँकलन गर्न सकिन्छ । तर यो सफ्टवेयर कहिलेबाट प्रयोगमा आउनेछ र साहित्यिक चोरी गरी विश्वविद्यालयको उपाधि धारण गर्न पल्केकाहरुको हालत के हुने हो, हेर्न बाँकी नै छ ।
(लेखक शर्मा त्रि.वि. केन्द्रीय पुस्तकालयका अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्