देशले विकल्प खोजेको छ: नेता पौडेल

देवघाटधाममा नेता जोशीको अस्तु विर्सजन



मिला दरै, तनहुँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वर्गारोहणको सातौं पुण्य तिथिमा अस्तु विसर्जन गरिएको छ । स्व. जोशीको अस्तु बिहीबार तनहुँको पवित्र धार्मिक स्थल देवघाटधाममा विसर्जन गरिएको छ ।

नेता जोशीकी आमाको अनुरोधअनुरूप अस्तु देवघाटधाममा विसर्जन गरिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । नेता जोशीको निधनले नेपालीहरू र कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको पौडेलले बताउनुभयो । नेता जोशीले वर्तमान राजनीति र परिस्थितिको संघर्ष गरी देशका विषयमा धेरै चिन्तन गर्ने व्यक्ति भएको बताउनुभयो ।पार्टी र जनताको विषयमा गम्भीर चिन्तनशील भएकाले उहाँको मस्तिष्क घात हुन पुगेको उहाँको भनाइ छ । जोशी पार्टीका लागि अनुकरणीय पात्र भएको उहाँले बताउनुभयो । ‘नवीन्द्रराज जोशीले देशमा आएको संकटबाट जोगाउन डटेर लड्नुभएको उदाहरणीय व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो– ‘जोशीका देशलाई बचाउने दीर्घकालीन सपना पूरा गर्नमा जनता र हामी कांग्रेसको कर्तव्य हो ।’

थोरै संकट केही समयका लागि टरे पनि केही अंश बाँकि रहेको पौडेलको भनाइ छ । देशलाई अनिष्टबाट जोगाउनमा सधैं लोकतान्त्रिक पार्टी कांग्रेस लागिपरेको उहाँको भनाइ छ । ‘देशमा अझै पनि अनिष्ट छाइरहेको छ, लोकतन्त्रमाथि अनिष्टको कालो बादल छाइरहेको छ, निश्चयको कालो बादल छाइरहेको छ, अहिलेको उपलब्धिलाई कुन खाडलमा लगेर हाल्दै छन् यहाँका शासकहरूले, हामीले विखण्डनको आजको विकल्प दिएर अगाडि बढ्नुपर्छ, देश र लोकतन्त्रलाई जोखिममा पार्नेहरूबाट जोगाउने विकल्प देशले खोजेको छ,’ पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले हाम्रो देश संस्कृति र प्रकृति विशिष्ट रहेको बताउनुभयो । ‘यसको प्रमाण हो आज दुनियाँ त्रसित छन्, युरोपमा कोरोनाको जोखिम छ, विभिन्न खतरनाक रोगबाट दुनियाँ त्रसित छन्, भारतमा मानिसहरू संक्रमणको शिकार भएका छन्, तर नेपाल अपेक्षाकृत रूपमा जोखिममा छैन, हाम्रो नदीनाला, हरियाली वनजंगलले गर्दा देश सुरक्षित छ, नेपालको संस्कृति र प्रकृतिले नै सुरक्षित तुल्याएको छ’ – वरिष्ठ नेता पौडेलले भन्नुभयो ।नवीन्द्रजीको आत्मा पवित्र रहेजस्तै पवित्र तीर्थस्थलमा अस्तु विसर्जन गर्दा स्वर्गमा बास हुने उहाँको विश्वास छ । देवघाटधाममा अस्तु विसर्जन गर्दा स्वर्गमा पुग्ने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्