नेपालको पहिलो सुरुङ पुनर्निर्माणको तयारी



रोशन पराजुली, हेटौंडा ।

सात वर्षअघिदेखि अलपत्र परेको हेटौंडा–काठमाडौं सुरुङमार्गमा प्रदेश सरकारले हात हालेपछि बल्ल बन्ने छाँटकाँट देखिएको बेलामा हेटौंडामा आजभन्दा १ सय २ वर्षअघि नै गाडी गुडाउन मिल्ने सुरुङमार्ग बनिसकेको थियो भन्दा अचम्म लाग्न सक्छ । तर, नेपालको पहिलो ग्राजुएट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाको डिजाइनमा त्यति बेला नै हेटौंडामा सुरुङमार्ग बनिसकेकोे थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको उक्त सुरुङमार्ग विसं २०२० सम्म सञ्चालनमा रहेको बताइन्छ । चुरियामाई सुरुङका नामले चिनिने उक्त सुरुङमार्ग विसं २०७२ सालको भूकम्पपछि भने सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणलाई अवलोकनमा निषेध गरिएको छ ।

हाल प्रदेश–२ को बारा र बागमती प्रदेशको मकवानपुर जोड्ने उक्त सुरुङमार्गको भग्नावशेष अझै पनि देख्न सकिन्छ । राणाकालमा भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरेपहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन ।त्यसैले हेटौंडा छिर्ने सहज उपायको खोजीमा पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङ खनियो र गाडी चलाइयो । शहरी विकास विज्ञ बीके महर्जनका अनुसार उकालो बाटोमा सडक बनाउन गाह्रो हुने भएकाले विकल्पमा सुरुङ खनिएको हो । उहाँ भन्नुहुन्छ–‘हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँको सडक केही उकालो छ । इ। थापाले तत्कालीन समयमा उकालोमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङ खन्नुभएको हो ।’ पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवै तर्फका भित्तामा लहरै ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण पनि गरिसकेको छ ।

पहिरोले एकापट्टिको भाग पुरिएर करिब २ सय ८० मिटरमात्र बाँकी रहेपछि सुरुङको अस्तित्व नै नरहला भन्ने चिन्ताले अहिले प्रदेश सरकार यसको संरक्षणमा तातिएको छ । सुरुङ पुनर्निर्माणका लागि वागमती प्रदेश सरकारले रुचि देखाएको छ भने ऐतिहासिक सुरुङलाई कानुनअनुसार ‘स्मारक’ घोषणा गरेर संरक्षण गर्न आवाज उठिरहेका बेला यसका लागि बोलपत्र आह्वान गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्र सुरुङमार्ग पुनर्निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको छ ।चुरे पर्वतको काखमा रहेको सुरुङ नेपालीहरूको श्रम, सीप, मेहनत र कला÷कौशलको प्रतिविम्ब भएको जिकिर गर्दै चुरियामाईका श्यामकुमार बम्जनले सुरुङ गुफामा परिणत भएपछि चर्चामा आउन नसकेकोे चिन्ता व्यक्त गर्नुभयो ।

उता हेटौडाका मेयर हरिबहादुर महतले भने दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङ भएकाले यसलाई विश्वसामु चिनाउन उपमहानगरपालिकाले विगतदेखि नै संरक्षण गर्दै आएको बताउनुहुन्छ । सुरुङ निर्माण गर्ने थापाको इतिहास जोगाउन उहाँको प्रतिमूर्ति स्थापना गरिएको भन्दै मेयर महतले चुरियामाई सुरुङ संरक्षणका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यस क्रममा सुरुङमार्गको बीच खण्डमा विस्फोट गराएर भत्काइयो र त्यसमाथि सडक बनाइयो । सडक छेउमा देखिएका सुरुङका मुखहरू थुनिए । तर, मन्दिरनजिकैको सुरुङको मुख्य भाग भने अहिले पनि संग्लै छ । सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।इ। थापा तत्कालीन पूर्वी नेपाल तथा इलामका बडाहाकिम कर्णेल गजराजसिंह थापा तथा श्री ३ जंगबहादुर राणाका ज्येष्ठ सुपुत्री बदनकुमारी थापाका नाति तथा बृक हर्षजंग थापा तथा दीपराजेश्वरी थापाका काहिंला सुपुत्रका रूपमा विसं १९५० मा जन्मिनुभएको थियो । उहाँको ५२ वर्षको उमेरमा विसं २००२ मा निधन भएको बताइन्छ ।

नेपाललाई राम्ररी चिन्नुभएका र सबै जिल्लामा हिँडेर पुग्नुभएका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे उल्लेख गर्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भिœयाउन नसकेका बेला नेपाल सफल भएको भन्दै खुसी व्यक्त गरिएको छ । हेगनले पुस्तकमा उक्त सुरुङलाई विश्वको ‘आठौं आश्चर्य’ का रूपमा उल्लेख गर्नुभएको छ ।चुरियामाई सुरुङ निर्माता इ। थापाले देशका १२ वटा महत्वपूर्ण भौतिक संरचना डिजाइन गर्नुभएको थियो । हेटौंडा–काठमाडौं रज्जुमार्ग (रोपवे), १९९० कोभूकम्पपछि भत्किएको काठमाडौंको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाका दरबारहरू र नेपालको पहिलो रेलवे (जनकपुर–जयनगर) को पनि उहाँले नै डिजाइन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्