सडक निर्माण नसकिदै नेपाली पक्षलाई हन्तान्तरण



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्ज ठोरी हुलाकी सडक, निर्माण काम पुरा नहुदै नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुन्जले सडक निर्माण गर्न अवरोध गरेपछि ५ किलोमिटर कालोपत्रे नहुदै हुलाकी सडक हस्तान्तरण गरिएको हो । इन्डियन कन्सलटेन्सीका इन्जिनियर नूर आलम र हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरुपमा रिवन काटेर राजमार्गको उद्घाटन गर्दै नेपाली जनतालाई हस्तान्तरण गर्नु भएको हो ।

पर्सामा निर्माणाधीन वीरगन्ज ठोरी हुलाकी राजमार्ग अन्तर्गतको सेढवाको चमरीहोल देखि ठोरीको चौतारासम्मको ३० किलो मिटर सडकको ठेक्का सकारेको कालिका बानिया जेभीको सम्झौता अवधी सकिएको छ । २०७४ साल कात्तिक १४ गते ठेक्का सकारेको निर्माण कम्पनीले ३९महिना पछि समय सकिएको हो ।

३० किलो मिटर ठेक्का सकारेको निर्माण कम्पनीले झन्डै ५ किलो मिटरको सडक निर्माण पूरा गर्न बाँकी नै रहेको अवस्थामा इन्डियन कन्सलटेन्सीले हुलाकी राजमार्ग हस्तान्तरण समेत गरेको हो ।नेपाल सरकारबाट इजाजत पाएको ठाउँसम्म निर्माण कम्पनीले काम पूरा गरेको बताउँदै चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बाँकी काम पूरा हुन नपाएको इन्डियन कन्सलटेन्सीका इन्जिनियर आलमले बताउनुभयो ।

तत्काल निकुञ्जसँग समन्वय गरी सहज वातावरण बनाइएमा निर्माण कम्पनीले अधुरो काम पूरा गर्न तयार रहेकाले निकास निकाल्न समेत उहाले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुभयो ।हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले पनि चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण काम पुरा गर्न नसकिएको जानकारी दिनुभयो ।हुलाकी राजमार्गमा घर जग्गा परेकाहरुको लागि १ महिनाभित्रै मुअब्जा बितरण थालनी गरिने समेत जानकारी उहाले दिनुभयो ।

निर्माण कम्पनीको तत्काल धरौटी फिर्ता नहुने भएको हुँदा वातावरण निर्माण भए हालकै निर्माण कम्पनीलाई काम पूरा गर्न लगाइने पनि चौधरीले बताउनुभयो ।निर्माण कम्पनीले सबै काम पूरागरी कालोपत्रे गर्ने तयारी गरिरहेकै बेला एकाएक चितवन राष्ट्रिय निकुञ्जले काम रोक्न परिपत्र गरेकाले निर्माण कम्पनीले ९५ प्रतिशत काम गरेर बिदा भएको छ ।

निकुञ्जको अवरोधका कारण काम पूरा गर्न नसकिएकाले यदि वातावरण बनेको खण्डमा आफ्नो निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिए पुनःआएर काम पूरा गर्ने निर्माण कम्पनीका प्रतिनिधि उद्वव न्यौपानेले बाताउनुभयो । ठोरीको ठुटेखोलाको कुलो बिवाद रहेकाले उक्त स्थानमा, रामनगरको २ ठाउँमा र निर्मलबस्तीमा कालोपत्रे गरिएको छैन भने रुखलाई मूल सडकको बिचबाट नहटाई ,रुखलाई बिचमा नै छोडी कालोपत्रे समेत गरिएको छ । चलनचल्तीकै बाटो निर्माणमा चितवन राष्ट्रिय निकुञ्जले अवरोध पु¥याएकाले ठोरीको विकासमा बाधक बनेको भन्दै स्थानीयहरुको आक्रोश बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्