नेपाली सेनाको कालीजंग गणमा भुतपूर्व सहायक शिविर, २३ सय बढी मानिस लाभान्वित हुँदै



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व र नेपाली सेनाको ब्यवस्थापनमा बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक र भूतपूर्व सैनिकका एकल महिला तथा आश्रित परिवारहरुलाई कालीजंग गण धुलिखेलमा सम्मान गरिएको छ । कालीजंग गण, धुलिखेल व्यारेकमा सहायक शिविरको रुपमा आयोजित सम्मेलनको २६ नम्वर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिष्णु राउतले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापा, गणका सकलदर्जाहरु, काभ्रेपलाञ्चोक जिल्लाका भूतपूर्व सैनिक, भूतपूर्व सैनिकका एकल महिला र आश्रित परिवारहरु सहभागि थिए । सहभागिहरुलाई बर्दिबास सैनिक शिविर, महोत्तरी स्थित मध्यपूर्वी पृतना हेडक्वाटर भूतपूर्व सैनिक सम्मेलन कार्यक्रमको मूख्य शिविरमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो । मुख्य कार्यक्रमहरुको भिस्याट मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सम्मेलनमा सहभागि प्रमुख अतिथि २६ नम्वर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिष्णु राउतले भूतपूर्व सैनिक र भूतपूर्व सैनिकका एकल महिला तथा आश्रित परिवारहरुले नेपाली सेना कल्याणकारी योजना निर्देशनालयबाट पाउने सेवा सुविधाहरुको बारेमा जानकारी गराउनु भई अपाङ्गता भएका आश्रित परिवारहरुलाई सम्मान गर्नु भयो ।

श्रीमती ज्ञानी श्रेष्ठ, जुद्धमाया नेपाल, श्रीकृष्ण कार्कीलाई व्हिल चियर वितरण गरिएको थियो । सुश्री सिता राउतलाई बैशाखी र अन्य उपस्थित २ सय ८७ जनालाई भ्रमण भत्ता, गाडी भाडा र खाना खाजा खर्च, क्याप टोपी, सल, मण्डी, मेडिकल किटहरु बितरण गरिएको थियो । गणमा उपस्थित भूतपूर्व सैनिक, भूतपूर्व सैनिकका एकल महिला र आश्रित परिवारहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

भुतपुर्व सम्मेलन चैत्र १८ गते शुरु भई २४ गतेसम्म संचालन हुनेछ । सहायक शिविरको रुपमा संचालन भएको शिविरमा काभ्रेपलाञ्चोक जिल्लाका भूतपूर्व सैनिक, भूतपूर्व सैनिकका एकल महिला र आश्रित परिवारहरु गरी २ हजार ३ सय ४८ जना लाभान्वित हुने कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी मिलन थापाले जानकारी दिनु भयो ।

कालीजंग गणमा आयोजित सहायक शिविरमा भुतपुर्व महिला तथा एकल महिलाहरुसँग अन्र्तक्रिया गरिएको थियो । भुतपुर्वहरुका समस्या र भोगाईका बारेमा भएको अन्र्तक्रियाले आगामी दिनमा थप योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ । सहभागिहरुलाई सैनीकहरुले प्रयोग गर्ने ब्लाङ्गकेट, फस्टएड किट्स, टोपी लगायतका सामाग्रीहरु वितरण गरिएको कर्णेल मिलन थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्