भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडकखण्ड हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडक खण्ड हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले निर्माण सम्पन्न भएका सडकखण्डहरु संयुक्त रुपमा नेपालका जनतालाई ‘समर्पित’ गरेका हुन् ।

कार्यक्रममा राजदूत क्वात्रा र मन्त्री नेम्वाङले यस परियोजना सम्पन्न गर्न योगदान दिने सबैमा धन्यवाद व्यक्त गरे । तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको थियो । जुन भारत सरकारको नेरु। ८०० करोड आर्थिक सहयोगमा निर्माण गरिएको जनाइएको छ ।

यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत-नेपाल सीमासँग पनि जोड्दछन् । प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पुर्‍याएको छ ।

सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको जनाइएको छ । भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको हो ।

यस सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्‍याउनुका साथै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी भइरहेको जनाइएको छ ।

यी हुन् निर्माण सम्पन्न भएका सडकखण्ड

 सडकको नाम                             लम्बाई         (किमि)               जिल्ला

१ .   मनमत—कलैया—मटियर्वा,प्याकेज              ११५.००                  बारा
२ .  मनमत—कलैया—मटियर्वा,प्याकेज               २११.६६                  बारा
३ .   बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज   ११७.००             धनुषा
४.    बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज   २१५.३१          धनुषा
५.    जनकपुर— यदुकुहा                                १६.६३            धनुषा
६.    माइस्थान—गौशालाबजार—सम्शी            २६.९४           महोत्तरी
७ .   जलेश्वर—हर्दी                                      २७.२६         महोत्तरी
८.    लमही—कोइलाबास                             ३३.४७         दाङ्
९.    कानेपोखरी—रङ्गेली                             २ ५.४०       मोरङ्ग
१०.    कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी         १७.२८       सप्तरी
११ .   तामागढी—सिम्रौनगढ, प्याकेज             १२०.००     बारा
१२.    तामागढी—सिम्रौनगढ, प्याकेज             २ १९.७४५   बारा
१३ .   बीरगंज—ठोरी, प्याकेज                      १ २५.६०    पर्सा
१४.    बीरगंज—ठोरी, प्याकेज                     २ ३०.००    पर्सा

प्रतिक्रिया दिनुहोस्