बिमस्टेक उच्च अधिकारीको बैठक शुरू



काठमाडौं, (नेस) 

एसियाली क्षेत्रीय संगठन बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) उच्च अधिकारीस्तरीय बैठक बुधबारबाट शुरू भएको छ ।

इन्टरनेटबाट भर्चुयलरूपमा शुरु भएको बैठकले विसं २०७५ मा काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथौं सम्मेलनले पारित गरेका निर्णयहरूको कार्यान्वयनमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा परराष्ट्र सचिव पौड्यालले सदस्य राष्ट्रको प्रगति र त्यहाँको जनताको जीवनस्तर उकास्न बिमस्टेकलाई प्रभावकारी संगठन बनाउनुपर्ने र यसका लागि सदस्य राष्ट्रहरूबीच आपसी सहयोग घनीभूत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकले बिमस्टेक घोषणापत्रलगायतका कानुनी दस्तावेजको अन्तिम प्रारूप तयार गर्ने, कनेक्टिभिटीको गुरुयोजना र बिमस्टेक सचिवालयका लागि सन् २०२० को बजेटको समीक्षा गर्दै २०२१ को बजेट तय गर्नेलगायतका विविध विषयमा छलफल गर्ने बताइएको छ । मन्त्रीस्तरीय बैठकका लागि तयारीस्वरुप शुरु भएको यो बैठक बिहीबारसम्म चल्नेछ ।बैठकमा परराष्ट्रसचिव भरतराज पौड्यालको नेतृत्वमा अर्थ मन्त्रालय, न्याय, कानुन र संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक योजना तथा यातायात मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्