घुस अस्वीकार गर्ने ३४ ट्राफिक प्रहरी सम्मानित



काठमाडौं, (नेस)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायब निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमध्ये ७ जनालाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ । पुरस्कृत हुनेहरूमा प्रहरी हवल्दार भीमबहादुर बोहोरा र वसन्तकुमार गौतम, प्रहरी जवान क्रमशः विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लालबहादुर विक र शंकरकुमार पन्त रहेका छन् ।नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न प्रहरीले नियमित निर्देशन दिँदै आएको छ । घूस दिन खोज्ने १ सय ३६ जना चाललाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

‘ट्राफिक नियम उल्लंघन गर्ने चालकले कारबाहीबाट बच्न र कारबाहीपश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकलाई कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एवं पुरस्कृत गरिएको हो’ – उहाँले बताउनुभयो ।आमसवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लंघनपश्चात् हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाले जनाएको छ ।

आर्थिक पारदर्शीता एव शून्य सहनशीलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एव सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्