विद्यालयमा मनोपरामर्श सेवा आवश्यक

रोकिएन छात्राहरू बेहोस हुने समस्या



विनोदसिंह विष्ट, बैतडी

ग्रामीण भेगका विद्यालयका छात्राहरू सामूहिकरूपमा बेहोस भएर विद्यालय नै केही दिनका लागि बन्द गर्नुपर्ने समस्या लगातार दोहोरिइरहेको छ ।यसै साता मात्रै पनि बैतडीको एक विद्यालयका छात्राहरु एक्कासि बेहोस हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको छ । शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माविका कक्षा ८ देखि १० मा अध्ययनरत छात्राहरू गत बिहीबारदेखि बेहोस हुन थालेका हुन् ।

विद्यालयका प्रधानाध्यापक महामलसिंह साउदका अनुसार छात्राहरू बेहोस हुँदा विद्यालय सञ्चालनमै समस्या भएको छ । उहाँले विद्यालयमा पुग्नेबित्तिकै छात्रा बेहोस हुने र एक जना बेहोस हुनेबित्तिकै अरू पनि बेहोस हुने क्रम बढेको बताउनुभयो । उहाँका अनुसार छात्राहरूमा एक्कासि बेहोस हुने, बर्बराउनेलगायतका लक्षण देखिने गरेको छ । बेहोस भएकामध्ये कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई उपचारका लागि धनगढीको अस्पतालमा पठाइएको विद्यालयले जनाएकोे छ ।छात्राहरूमा देखिने यस्तो समस्या मास कन्भर्सन डिसअर्डर हुन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशी बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘मानसिक तनाव, व्यक्त गर्न नसकेका कुरालगायतका कारणले यस्तो समस्या देखिन सक्छ । किशोरीहरूमा यो समस्या बढी देखिन्छ ।’बैतडीकै पाटन नगरपालिका–५ स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पनि आजभन्दा झन्डै तीन वर्षअघि एक महिनासम्म यस्तै समस्या देखिएको थियो । शुरूमा एक÷दुई जनामा चार÷पाँच दिन बिराएर यस्तो लक्षण देखिन थालेकोमा विस्तारै देनिक ४–५ जना छात्रा बेहोस हुन थालेका थिए ।

यसअघि गत फागुनमा यस्तै समस्याका कारण दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेशविनायक माध्यमिक विद्यालय केही दिनलाई बन्द गरिएको थियो । फागुनमै डोटीको केआईसिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ छात्रा एकसाथ बेहोस भएका थिए । १२ कक्षाका छात्राहरू बेहोस हुन थालेपछि ६, ७ र ८ कक्षाका छात्रा पनि एकसाथ बेहोस हुन थालेका थिए । ती छात्रा विद्यालय प्रवेश गर्नेबित्तिकै काम्ने, बर्बराउने र बेहोस हुने गरेको विद्यालयले बताएको थियो ।मनोचिकित्सकहरूका अनुसार अचेतन मनका कुरा व्यक्त गर्न नसकेपछि सिर्जना भएको तनावलाई व्यवस्थापन गर्ने क्रममा यस्तो समस्या आइपर्ने गर्दछ । त्यस्तै आफ्नो इच्छापूर्ति नहुँदा, इज्जत तथा प्रतिष्ठाको तनाव, यौनसम्बन्धी समस्याको तनाव, प्रतिस्पर्धाको तनाव, पढाइ तथा घरायसी झमेला आदि कारणले पनि यस्तो समस्या देखिने र यसलाई हिस्टेरिया भनिने उहाँहरू बताउनुहुन्छ । त्यसैले विद्यालयहरूमा मनको कुरा खुलस्त राख्ने वातावरण बनाउन सके वा विद्यार्थीलाई बेला–बेलामा साइकोथरापी अर्थात् मनोपरामर्शको व्यवस्था गर्न सके यस्ता समस्या समाधान हुने मनोचिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्