निष्पक्षरूपमा तथ्यांक लिन सुझाब



खोटाङ, (नेस)

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ शुरू हुन लागेको राष्ट्रिय जनगणना २०७८ का लागि खोटाङमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालिएको छ । चैत्र १ गतदेखि जिल्लामा स्थापित भई काम अघि बढाएको जिल्ला जनगणना कार्यालयले कोही नछुटून, कोही नदोहोरिऊन् भन्ने उदेश्यले जिल्लामा सचेतनामूलक गतिविधि शुरू गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले दिएको कार्यतालिकाअनुसार नै जनगणनासम्बन्धी विभिन्न गतिविधि अघि बढाउने जिल्ला जनगणना संयोजक तथा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । शर्माका अनुसार जनताका घर–दैलामा पुगेर तथ्यपरक गणना गरिनेछ ।बुधबार जिल्ला स्तरीय सचेतना गोष्ठी आयोजना गरेको कार्यालयले आगामी चार महिना अर्थात् असार मसान्तसम्म स्थानीय तहकेन्द्रीत गोष्ठीहरू सञ्चालन गर्ने कार्यतालिका रहेको जिल्ला जनगणना अधिकारी जितबहादुर कोइरालाले बताउनुभयो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्लास्तरीय सचेतना कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय लगायतका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरूलाई सहभागी गराइएको थियो ।जाति तथा धर्मका आधारमा भेद्भाव नगरी निष्पक्ष रूपमा जनगणनाका लागि तथ्यांक संकलन गर्न÷गराउनुपर्ने सहभागीहरूको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्