रोटरीको सोलार हिटर हिमालयन वृद्धाश्रमलाई



नेपाल समाचारपत्र, काठमाडौं 

रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले गोंगबु बसपार्क अगाडि टोखा–१० मा रहेको हिमालय वृद्धाश्रमका बुबाआमाका लागि सोलार प्यानल हिटर प्रदान गरेको छ ।रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको चार्टर प्रिजेन्टेसनको अवसर पारी क्लबले पानीट्यांकी तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको थियो ।
स्पोन्सर क्लब बुटवल डाउनटाउनका अध्यक्ष पंकज ज्ञवालीको अध्यक्षतामा भएको विशेष समारोहमा रोटरी क्लब अफ नेपाल–भुटान ३२९२ का डिस्ट्रिक गभर्नर राजीव पोख्रेलले चार्टर मेम्बरहरूलाई क्लबको पिन र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

क्लबका अध्यक्ष श्यामबहादुर पराजुलीले चार्टर मेम्बरहरूको परिचय गराउँदै क्लबले समाजसेवाका क्षेत्रमा गरेका काम र त्यसको प्रभावका बारेमा स्पष्ट पार्नुभएको थियो ।सो अवसरमा गभर्नर पोख्रलले रोटरी क्लब यस्तो सागर हो यहाँ जति सेवा गरे पनि पुग्दैन भन्दै १ सय १६ वर्षदेखि क्रियाशील भएर समाजसेवा गरेरै टिक्ने संस्था यो बाहेक अन्य नभएको दाबी गर्नुभएको छ । मानिसको मन जित्ने संस्था हो रोटरी भन्दै गभर्नर पोख्रेलले संसारकौ सबैभन्दा पारदर्शी संस्था पनि यही भएको दाबी गर्नुभएको छ ।

उहाँले संसारका जुनसुकै ठाउँमा पुगे पनि एक रोटरियनले अर्को रोटरियनलाई साथीका रूपमा सहयोग गर्ने गर्छन् भन्दै नेपालका रोटरियनहरूले शुरू गरेका २ अर्ब २७ करोड बढीका परियोजना पनि निकै प्रभावकारी रूपमा अगाडि बढेको जानकारी गराउनुभएको छ ।अरुको अनुहारमा खुसी ल्याउनु भनेको आफ्नो अनुहारमा पनि खुसी ल्याउनु हो भन्ने मान्यताका साथ क्रियाशील रोटरी क्लब अफ काठमाडौं डाउनटाउका अध्यक्ष श्यामबहादुर पराजुलीले रोटरीमार्फत समाजसेवाका लागि १० हजार अमेरिकी डलर सहयोग हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्