युवालाई कोरिया जाने वातावरण तयार गर्न माग



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले ईपीएसअन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिनादेखि पर्खिरहेका झन्डै १० हजार नेपाली युवाहरूलाई चाँडोभन्दा चाँडो काममा जाने वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हजारौं युवाको लगानी र समय खेर गइरहेकाले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसँग वार्ता गरेर उनीहरूलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको, दशौं हजार नेपाली युवा स्वदेश फर्केको तर उनीहरूको पुनस्र्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल नगरेको बताउनुभयो ।नेपाली कांग्रेसले गठन गरेको छायां मन्त्रिपरिषद्मा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई छुट्टाछुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरूको समस्याबारे अवगत गराउनुभएको थियो ।

उहाँले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरूको विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरूलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गर्नुभएको छ । सांसद संग्रौलाले कोरिया जानबाट वञ्चित रहेका कामदारहरूले बुझाएको ज्ञापनपत्र पनि मन्त्री ज्ञवालीलाई बुझाउनुभएको थियो ।ज्ञापनपत्रमा हाल नेपालका ७७ वटै जिल्लाबाट १० हजारभन्दा बढी युवा कोरिया सरकारले तोकेका सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जानबाट वञ्चित हुँदा भाषा प्रशिक्षणसहित मेडिकल जाँचलगायतको खर्च डुब्ने र यसबाट उनीहरूको भविष्य नै अन्योलमा परेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्