आयोजना नै रद्द गर्ने सहमतिपछि विवाद अन्त्य



रामधन राई, खोटाङ 

खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा विकासे आयोजनाको निहुँमा शुरू भएको विवाद अन्ततः आयोजना नै रद्द गर्ने सर्तमा टुंगो लागेको छ । बाकाचोलस्थित बिस्काम खोला मुहान भएको ऐंसेलुखर्क खानेपानी आयोजनाका विषयमा उत्पन्न विवादलाई सल्ट्याउन आयोजना नै रद्द गर्नुपर्ने अवस्था आएको हो ।

वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नै नगरी बिस्काम खोलाको पानी अन्यत्र लैजान दिएको विषयमा समेत असन्तुष्ट स्थानीयले गत चैत ४ गते वडा कार्यालयमा तालाबन्दी गरेर विरोध शुरू गरेका थिए । खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने समेतको माग राखी ताला लगाइएपछि उत्पन्न समस्यालाई हल गर्न चैत १६ गते सोमबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलासहित द्विपक्षीय छलफल बसेका थिए ।छलफलले उक्त आयोजना रद्द गर्न कार्यपालिकाले निर्णय गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र सरोकारवाला पक्षलाई जानकारी दिने लिखित सहमति गरेको छ । डीपीआर सकिएको करिब तीन करोड रुपियाँको आयोजनाअन्तर्गत पहिलो किस्ता वापत ५० लाख रुपियाँ रकम निकासा भइसकेको प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यको भनाइ छ ।

बाकाचोलमा खानेपानी आयोजनासँगै संसदीय विकास कोषको बजेटबाट निर्माण हुने बादेल– विस्काम सडक निर्माण उपभोक्त समिति गठनको विषयमा समेत विवाद उत्पन्न भएको थियो । वडा कार्यालयमा ताला लगाउँदा वडाध्यक्ष तामाङले आफूखुशी कोठे बैठक राखेर सडक निर्माण उपभोक्ता समिति गठन गरेको आरोप समेत लगाइएको थियो ।१० लाख रुपियाँ बजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौता रद्द गरी वडा सदस्य जयकुमार तामाङ र डम्बरकुमारी राईको रोहवरमा अर्को उपभोक्ता समिति गठन गर्ने समेत सहमति भएको छ ।

उक्त दुईबुँदे सहमति लगत्तै वडा कार्यालय तेस्रोपटक लगाइएको ताला खोलिएको छ । यसअघि, शनिबार बोलाइएको भेलामा दुवै पक्षबीच ढुंगा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण बाहिर जाने सम्भावनाकै कारण सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐसेलुखर्क पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्