सकियो बुद्ध फेस्टिवल



बुद्ध थिएटर फेस्टिवलमा अभि सुवेदीको लेखन रहेको नाटक विम्बाका सपना मञ्चन गरिएको छ। थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक गत शुक्रबार भने माला आट्र्स एकेडेमीका कलाकारले प्रस्तुत गरेका थिए। नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको थियो।

१ घण्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित थियो। सिद्धार्थ गौतम दुधेबालक राहुलको समेत पर्वाह नगरी दुःखका कारण खोज्न दरबार छाडेर हिँडे। यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए। यही ६ वर्षको बीचमा यशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारीरूपमा प्रस्तुत गरेको थियो। नाटककार अभि सुवेदीले यशोधरालाई विम्बाको नाम दिँदै उनको अन्तद्र्वन्द्वलाई प्रस्तुत गरेका थिए।

शुक्रबार मञ्चन भएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्वारा अझै रोचक तरिकाले प्रस्तुत गरेका थिए। नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा, अम्बिका बराललगायका कलाकारले अभिनय गरेका छन्।राष्ट्रिय नाच घरको प्रेक्षालयमा सम्पन्न फेस्टिवलमा मञ्चन भएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो। शनिबारको अन्तिम मञ्चनसँगै फेस्टिवलको समापन भएको फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी गराएका छन्। महोत्सवमा अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको प्रतित्य सुमुत्पाद मञ्चन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्