हेटौंडामा लागूऔषधविरुद्ध संगीत महोत्सव हुने



हेटौंडा, (नेस)।

नशा त्यागौं, संगीतमा झुमौं भन्ने नाराका साथ हेटौंडामा लागूऔषधविरुद्ध पहिलो सांगीतिक महोत्सव हुने भएको छ।हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालय तथा सिआन पुनःस्थापना केन्द्रको आयोजनामा महोत्सव हुने हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। महोत्सव चैत २४ गतेदेखि वैशाख १ गतेसम्म चल्नेछ। कार्यक्रम व्यवस्थापक तथा सिआन पुनःस्थापना केन्द्रका सदस्य अजित राईले हेटौंडालाई दुव्र्यसनमुक्त बनाउन महोत्सवमार्फत चेतना दिने लक्ष्य लिइएको बताए।

महोत्सवमा अन्तरक्याम्पस संगीत प्रतियोगिताका स्टल रहने आयोजक समितिले जनाएको छ। संयोजक राईले महोत्सवमा २ सय १० स्टल रहने बताए। उनले स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताएका छन्।उनका अनुसार २५ गते धिरज राई, २६ गते उदय सोताङ, मनिला सोताङ र छिरिङ भुटिया, २७ गते कमल क्षत्री, २८ गते सत्यराज आचार्य र स्वरूपराज आचार्य, २९ गते विद्या तिवारी, ३० गते कुलेन्द्र विक, ३१ गते रोज मोक्तान र अन्तिम दिन नयाँ वर्ष वैशाख १ गते यशकुमार आउने कार्यक्रम तय भएको छ।

महोत्सवमा अनुमानित आय ३९ लाख ५० हजार रहेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ। महोत्सवमा खर्च कटाएर बचेको रकम बालउद्यान निर्माणमा खर्च गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्