भूकम्प आइहाले कसरी सुरक्षित हुने ?



पृथ्वीको सतह वा क्रस्ट विभिन्न महाद्वीपहरुले बनेको छ, जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ । नेपाल भौगोलिकरुपमा भारतीय महाद्वीप र एसियन महाद्वीपको बीचमा अवस्थित छ । यी महाद्वीपहरु तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन् ।

तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन्, जसले सतहमा तैरिरहेका महाद्वीपहरुलाई चलायमान बनाउँछन् । यसलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ । जब एउटा भाँडोमा हामी पानी तताउँछौं, तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ । हलुका भएको पानी माथि आउन खोज्छ र चिसो पानी तल गई फेरि तात्छ । यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ । त्यसलाई नै कन्भेक्सन करेन्ट भनिन्छ ।भूकम्पबाट मुख्य बच्ने उपाय भनेकै जानुभन्दा अगाडि गनुपर्ने पूर्वतयारी हो । भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन् । तसर्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्पप्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक छ । प्राविधिकको सल्लाह लिएर सुरक्षित घर बनाउने, पुरानो घर भए मर्मत–सम्भार गर्ने, भारी सामान घरभित्र भए तिनलाई नहल्लिने गरी वा बाँधेर राख्ने गर्नुपर्छ । विषादी र प्रज्वलनशील पदार्थलाई सुरक्षित ठाउँमा राख्नेजस्ता सावधानी अपनाएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।

भूकम्प जति बेला पनि आउन सक्ने भएकाले पूर्वतयारी गरी कसरी यसरी जोगिन सक्छु भन्ने धारणा बनाउन अनिवार्य छ । यदि भूकम्प आइहालेमा आफू भएको स्थान र सुरक्षित स्थानबारे जानकारी हुनुपर्छ । जस्तै– घरसँगै कार्यालय, विद्यालय, बाटो, सुपरमार्केट आदिजस्ता आफू गइरहने ठाउँका सुरक्षित स्थानबारे सधैँ हेक्का राख्नुपर्छ । भूकम्प आउँदा सावधानी अपनाउनेबारे फुर्सदको समयमा अभ्यास गर्न सकिन्छ । यसले भूकम्पबारे ज्ञान बढाउनुका साथै डराउने, आत्तिनेजस्ता समस्यासमेत कम गराउँछ ।यदि ठूलो भूकम्प आइहालेमा के गर्ने भन्नेबारे घर–छिमेक र समाजमा छलफल गर्नुपर्छ । त्यस्तै, हरेक स्कुलमा बालबालिकालाई यसका बच्ने उपायबारे ज्ञान दिन अनिवार्य छ । भूकम्प जति बेला पनि आउन सक्छ भन्ने बुझेर आपत्कालीनका लागि अत्यावश्यक सामानको झोला सधैँ तयार राख्नुपर्छ । जस्तै– टर्च, रेडियो, फोन, खानेकुरा उक्त झोलामा राख्दा विपतका बेला ठूलो फाइदा पुग्छ ।

भूकम्प आइसकेपछि सुरक्षित स्थान अर्थात् खुला ठाउँमा जानुपर्छ । नडराई र नआत्तीकन सूचना दिने, अरूलाई सहयोग गर्ने, घाइतेलाई सुरक्षित स्थानमा जान सहयोग गर्ने गर्नुपर्छ । ड्राइभिङ गर्दा भूकम्प आए सोही ठाउँमा एकछिन् अडिएर सुरक्षित स्थानमा जानुपर्छ । बाटो, सडकमा भएमा पोल, ठूला होर्डिङ बोर्ड र घरका छेउमा बस्नुहुँदैन । घरभित्र भएमा सामान खसेर नलाग्ने गरी खुल्ला ठाउँमा तुरुन्त जानुपर्छ ।
– समर्पण केसी, गोरखा ।

 

प्रतिक्रिया दिनुहोस्