तौल घटाउने औषधि खाँदा हजारौँको मृत्यु



पेरिस, (एजेन्सी)

फ्रान्सको एउटा औषधि निर्माण कम्पनीलाई वजन घटाउने खाने चक्की बिक्रि वितरण गरेर बैइमानी गरेको तथा मानव हत्यामा अप्रत्यक्ष सहयोग पु-याएको आरोपमा दोषी ठहराइएको छ । यस घटनालाई मानव स्वास्थलाई खेलवाड गर्न खोजिएको ठूलो काण्डको रुपमा लिइएको छ ।

मधुमेह रोगीहरुको शारिरीक वजन कम गर्नका लागि तयार पारिएको मेडियटर नामक सो खाने चक्की विगत ३३ वर्ष देखि बजारमा पाइने गरेको बताइएको छ । तर यसको सेवनबाट मुटु सम्बन्धी गम्भीर समस्या देखापर्न सक्ने बताइएपछि सन् २००९ देखि बजारमा यसको बिक्रि वितरण माथि रोक लगाइएको थियो । यसै खाने चक्कीको कारण सयौं व्यक्तिको ज्यान गइसकेको विश्वास गरिएको छ ।

यसको प्रयोगबाट हुनसक्ने विभिन्न साइड इफेक्टबारे जानकारी हुँदाहुँदै पनि विगत तीन दशकको दौरान करिव पचास लाख मानिसलाई यसको लागि सिफारिश गरिएको बुझिएको छ । सन् २०१९ देखि शुरु भएको यस औषधि प्रयोग विरुद्धको मुद्धामा हजारौ व्यक्ति तानिएका छन् ।

यस औषधिका निर्माता सर्भियरले आफुलाई यसको साइड इफेक्टबारे केहि जानकारी नरहेको अडान दोहराउँदै आएको छ । तर सोमवार फ्रान्सको एक अदालतले सर्भियरलाई ३२ लाख अमेरिकी डलर जरिवाना गराउने निर्णय गरेको छ ।

न्यायधिश सिल्भी डाउनिसले वर्षौंदेखि खतराबार थाहा हुँदा हुँदै तिनीहरुले कुनै आवश्यक कदम नचालेको आरोप लगाएका छन् । सर्भियर कम्पनीका पूर्व अध्यक्ष जिन फिलिप्पे सेटालाई पनि चार वर्ष लामो कैद संजाय सुनाइएको छ । यसैगरी फन्सको मेडिकल रेगुलेटरलाई पनि यस काण्डमा संलग्नता रहेको भन्दै ३ लाख युरो जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्