मन्त्रालयको निर्देशनको अवज्ञा : विद्यालय बन्द नगर्न भन्दै प्याब्सनको पत्र



न्युज अफ नेपाल, हेटौंडा ।

शिक्षा मन्त्रालयको ‘निर्देशन’ मकवानपुरका संस्थागत् विद्यालयहरुले मानेका छैनन् । उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्रका संस्थागत् विद्यालय नियमित छन् भने हेटौंडाका विद्यालय खुला राख्न प्याब्सनले पत्र पठाएको छ ।

देशभर चार दिन विद्यालय बन्द हुने दाबी गरिए पनि त्यसो हुन सकेन । विद्यालयमा पूर्वघोषित परीक्षा कार्यक्रमबाहेक विद्यालयमा बिदा दिइएको थाहानगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताउनुभए पनि स्थानीय संस्थागत् विद्यालय सुचारु छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यमान वायुप्रदुषणले विद्यार्थीको स्वास्थ्यमा पार्नसक्ने नकारात्मक असरलाई मध्यनजर राखी चैत १६ गते विद्यालय बन्द आह्वान गरेको थियो । थाहानगर शिक्षा शाखा प्रमुख रेग्मीले मन्त्रालयले जारी गरेको सूचना र तोकिएको बिदा सोहीबमोजिम हुने बताउनुभयो । थाहानगरका सबै विद्यालय पनि सोही सूचनामा तोकिएबमोजिम बन्द रहने उहाँले बताउनुभयो ।

सरकारले वातावरण प्रदुषणका कारण मंगलबारदेखि चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि मकवानपुरको थाहानगरमा भने संस्थागत् विद्यालय खुल्ने बताइएको थियो । थाहानगरमा अन्य स्थानमा जस्तो पूर्णरुपमा प्रतिकूल मौसम नरहेको तथा विद्यार्थी घरमा बस्नु र विद्यालय आउनुमा कुनै फरक नपर्ने भन्दै पठनपाठन सुचारु हुने जनाइएको हो ।

‘हामीले विद्यालय व्यबस्थापन समितिसँग छलफल गरेका छौं र सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौं,’ प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयो–सरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो । तर, थाहानगरमा त्यति धेरै प्रभाव छैन, सुरक्षितरुपमा पठनपाठन गराउनेछौं । प्रतिकूल मौसम भए समितिसँग छलफल गरेर अघि बढ्न भनेका छौं ।

थाहाका संस्थागत् विद्यालयहरु खुलेको जानकारी दिँदै अध्यक्ष प्रधानले भन्नुभयो–नियमित खुल्छन् पनि । चालु शैक्षिक सत्रमा पठनपाठनमा कार्यमा धेरै बाधा पुगिसकेको हुँदा प्याब्सनअन्तर्गत् विद्यालयले सार्वजनिक बिदाहरु कटौती गर्दै आएका छन् । थाहानगरमा १० वटा संस्थागत् विद्यालय छन् ।

केही दिनदेखि जारी वायुप्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सञ्चालित निजी तथा आवासीय विद्यालय चैत २२ गतेबाट मात्र खोल्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मनहरीले पत्र पठाएको छ ।

चैत १६ गते प्याब्सन मनहरीद्वारा प्रेषित पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धुलो, धुँवा र वातावरण प्रतिकूल रहेकाले चैत २० गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएकाले मनहरीका सबै निजी तथा आवासीय विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।

प्याब्सनले आइतबारदेखि मात्र नियमित अध्ययन र पूर्वनिर्धारित परीक्षाका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ । प्याब्सन मनहरीअन्तर्गत् राक्सिराङ गाउँपालिकाका १ समेत गरी ७ विद्यालय आवद्ध छन् ।
यसअघि मनहरी प्याब्सनअन्तर्गत् विद्यालयहरुमा चैत १७ गते मंगलबारबाट परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको थियो । अब परीक्षा चैत २२ गतेबाट सञ्चालन गरिने प्याब्सन मनहरी सचिव यदुनाथ श्रेष्ठले बताउनुभयो ।

प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा उपमहानगरपालिकाले संयुक्त सूचना जारी गर्दै हेटौंडा उपमहानगरमा घाम लागेको र वातावरण अनुकूल बन्दै गएको भन्दै बुधबारदेखि विद्यालय खोल्न अनुरोध गरेको छ । प्याब्सन मकवानपुरले हेटौंडामा घाम लागेको र वातावरण अनुकूल बन्दै गएको भन्दै विद्यालय सुचारु गर्न आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो । केही दिनदेखि तुवाँलोका कारण हेटौंडामा पनि वायुप्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्