अध्यक्ष रावलको निधनप्रति मन्त्री आलेद्वारा दुःख व्यक्त



विमल विष्ट, काठामडौँ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ।  ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज मंगलबार बिहान निधन भएको हो ।

मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट गर्नुका साथै उहाँको सव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोग समेत प्रदान गर्नुभएको मृतक रावलका भतिजा तथा पत्रकार वीरेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

कैलाली जिल्लाकै नेकपा एमालेको हस्तिका रुपमा चिनिनु भएका अध्यक्ष रावलको मृत्यु प्रति आपुलाई गहिरो दुःख लागेको वन तथा वातावरण मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “रावल जी सुदूरपश्चिमकै कम्युनिष्ट आन्दोलनका इतिहास हुनुहुन्थ्यो, पञ्चायत कालमा निरंकुस व्यवस्थाका बिरुद्धमा लड्ने क्रममा उहाँले कयौँ पटक जेल जिवन समेत बिताउनु परेको थियो । जनताका निकै प्रिय तथा नेकपा एमालेका कैलाली जिल्लाकै हस्ति नेता हुनुहुन्थ्यो, उहाँको निधनमा म सहित समग्र पार्टीलाई गहिरो चोट पुगेको छ ।”लामो समयदेखि उच्च रक्त चापले ग्रसित रावललाई चार दिन अघि मात्रै ब्रेन हेमब्रेज भएको थियो ।

 

उहाँलाई कोहलपुर मेडिकल कलेजमा उपचार पछि थप उपचारका लागि काठमाडौँ ल्याएको उहाँका घर परिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेता मध्ये रावल एक हुनुहुन्थ्यो । उहाँको निधन प्रति सुदूरपश्चिमका सबै कम्युनिष्ट नेताहरुले गहिरो दुःख मनाइ रहेका छन् । उहाँको सव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्