मोडल हन्टका प्रतियोगीले विभिन्न ‘अन्तराष्ट्रिय फेसन सो’मा भाग लिने



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंमा मोडल हन्टको छैटौँ संस्करण सम्पन्न गरेको छ । मोडलिङ क्षेत्रका प्रख्यात व्यक्तित्वहरुको उपस्थितीमा हरेक वर्ष हुँदै आइरहेको यो मोडलिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनहरुमा सजिएर प्रतिस्पर्धा गरेका थिए । ३४ जना युवा तथा ३२ जना युवतीबीच भएको प्रतिस्पर्धामा प्रवीण चापागाईं र अनिशा शाक्यले बेस्ट मोडलको ट्रफी जितेका थिए । नेक्स्ट मोडल्स नेपालको ब्यानरअन्तर्गत रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् भने प्रतियोगिता शाक्यकै सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागी हुन पाउने छन् । यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन विक,लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् । प्रतियोगितामा आईसी ग्रुप, नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कान्तिपुर टेलिभिजनका कार्यकारी निर्माता एवं सञ्चारकर्मी सुरज सिंह ठकुरी, सञ्चारकर्मी एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्