महिलाको नेतृत्वमा हाटबजार



पाल्पा,  ।

महिलाको नेतृत्व र लगानीसहित उनीहरुकै व्यवस्थापनमा हाटबजार सञ्चालन गरिने भएको छ । जिल्लाका किसानको उत्पादनलाई बजारसम्म पु¥याउन सदरमुकाम तानसेनमा कृषि हाटबजार सञ्चालन हुने भएको हो ।एक करोड रुपियाँभन्दा बढीको लगानीमा मिलनसार सहकारी संस्थाले कृषि उपज थोक बजार निर्माण गर्ने भएको छ । यसको नेतृत्व महिलाले गर्ने छन् ।

हाटबजारमा कृषकले उत्पादन गरेका कृषि उपज खरिद र संकलन गरी थोक मूल्यमा बिक्री हुनेछ ।हाटबजारको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले शिलान्यास गर्दै जिल्लामा व्यवस्थित हाटबजारको अभाव भएको सन्दर्भमा यसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख शाहीका अनुसार तानसेन नगरपालिकाका प्रत्येक वडामा यस्तो पसल स्थापना हुने छन । कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ६० लाख, तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ३० लाख र मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था तानसेन–१३, बौघागुम्हाको १० लाख रुपियाँ आर्थिक सहयोगमा कृषि उपज थोक बजार निर्माण हुने बताइएको छ ।

हाटबजार ३५ रोपनी सार्वजनिक ऐलानी पर्ती जग्गामा निर्माण हुन लागेको हो । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध शेयर सदस्यले हाटबजारको सम्पूर्ण स्वामित्व लिएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।संस्थामा महिला मात्र शेयर सदस्य छन् । यहाँ संकलन गरिएका तरकारी तथा फलफूललगायतका कृषि उपज छिमेकी बुटवल र पोखराका बजारमा बिक्री हुनेछन् । यहाँ मासुको लागि स्थानीय जातका खसी बोका, कुखुरा, राँगाको थोक तथा खुद्रा बिक्री पनि गर्ने लक्ष्य राखिएको छ । हाटबजारको सम्पूर्ण जिम्मा आफूहरूले लिएको मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष कमला भण्डारीले जानकारी दिनुभयो । संस्थामा ६२० जना महिला शेयर सदस्य छन् । हाटबजार सञ्चालनमा आएपछि करिब ४० जना महिलाले प्रत्यक्ष रोजगार पाउने भण्डारीले बताउनुभयो । हाटबजार निर्माण जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्