समयको माग र वैकल्पिक शक्ति राप्रपा



कैलाश कट्वाल 

मुलुकको वर्तमान राजनीतिक स्थिति हेर्दा विडम्बनापूर्ण र उदेक लाग्दो छ । केही वर्षअगाडि जनताले कम्युनिस्ट पार्टीहरुलाई झन्डै दुई तिहाइ मत दिएर पठाए । तर उनीहरुले कालान्तरमा जनतामाथि विश्वासघात गरे । विगत ३ वर्ष नोटंकीमै समय बर्बाद बनाएँ । जनताले यही नौटंकीको अपेक्षा गरेका थिए त ? २०६२-०६३ को आन्दोलनपछि हामीले कल्पना गरेको सिंगापुर र स्वीट्जरल्यान्ड यही हो त ? आज हामीले साँच्चै भन्नुपर्दा, २०६२-०६३ अघि हामी कुन दिशामा हिँडेका थियौं र अहिले कहाँ पुगेका छौं ? यति बेला मूल्यांकन गर्ने बेला आएको छ । इमानदाररुपमा भन्दा हामीले हाम्रो अभिभावक गुमाएका छौं ।

हाम्रो धर्म–संस्कृतिमाथि दिनानुदिन आक्रमण भइरहेको छ । त्यसैले सम्पूर्ण राष्ट्रवादी, राजावादी, हिन्दुवादीलगायतका संघसंस्था एकजुट भई हाम्रो धर्म–संस्कृतिलाई स्थापित गर्नुपर्छ । हाम्रो अभिभावक राजासहितको हिन्दु राजसंस्था चाँडोभन्दा चाँडो स्थापना गर्नुपर्छ । यो अहिलेको समयको माग हो । यही बटमलाइनमा हामी अघि बढिरहेका छौं । अब अहिलेको अवस्था धेरै दिन टिक्दैन । विदेशीको दानापानी खाएर नेपालमा जुन आतंक मच्चाइरहेका छन्, अब तिनीहरुका दिन समाप्त भए ।यति बेला यही सरकार टिकाउने वा नयाँ सरकार बनाउने कुरामा चलखेल भइरहेको छ । नयाँ सरकार गठन गर्ने हो भने पहिला कसलाई ल्याउने, किन ल्याउने ? केपी ओलीको ठाउँमा शेरबहादुर वा प्रचण्ड वा बाबुराम भट्टराई वा ए, बी, सी, डी कसलाई ल्याउँदा देशको समस्या समाधान हुन्छ ? यी कुरामा विचार–विमर्श हुनुपर्छ । पहिला यो संविधान नै गलत छ । जुन संस्था (राजसंस्था) ले यो देश निर्माण ग¥यो, यही संस्थालाई पाखा लगाएर आमजनताले चाहेको मुलुक निर्माण हुन्छ त ? त्यसैले सबैभन्दा पहिला यही संविधान नै गलत छ । यदि जनता जर्नादन हुन् भन्ने लाग्छ भने जनमत संग्रहमा जाऔं ।

यो संघीयता पहिला खारेज गर्नुपर्छ ।अब नयाँ जनादेशमा जानु नै मुलुकको हित हुन्छ । यदि निर्वाचनमा जाने हो भने त्यसको साथसाथै एउटा अर्काे पनि ब्यालेट पेपर राख्नुपर्छ । त्यसमा राजसंस्थासहितको प्रजातन्त्र चाहिन्छ कि चाहिँदैन भनेर राख्नुपर्छ । त्यहीँबाट हाम्रो एजेन्डा स्थपित गरौं । आगामी निर्वाचनबाट हामी हाम्रो एजेन्डालाई पूरा गर्नेछौं । हामीले जुन बेलामा राजासहितको हिन्दु राज्यको मुद्दा बोकेर हिँड्दा शिरमा कफन बाँधेका थियौं, मैले त्यति बेलाको राप्रपा, राप्रपा नेपालको कार्यकर्ता भएर आन्दोलनमा होमिदा लाठी र पानीको फोहरा खाएको थिएँ । त्यो एजेन्डा उठाउँदा पनि हामीलाई पराया सोच्थे, तर आज हाम्रो माग राख्न पहिलेभन्दा धेरै सजिलो छ । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भूल गरेका रहेछौं भन्ने प्रत्येक युवाको मन–मस्तिष्कमा यति बेला परेको छ ।हामीले कांग्रेस र कम्युनिस्टहरु असफल भइसकेको देख्यौं । अब जनताले यिनै पार्टीलाई किन जिताएर पठाउने ? बारम्बार यिनै पार्टीलाई किन मत दिने ? अबको वैकल्पिक शक्ति राप्रपा हो । यो समयको माग पनि हो । आगामी निर्वाचनमा राप्रपाले राम्रो परिणाम ल्याउने निश्चित छ । यदि साँच्चै नेपाली जनतालाई राजासहितको हिन्दु राज्य चाहिन्छ भने राप्रपालाई मत दिएर सदनमा पठाउनु उपयुक्त हुन्छ । हामीले सदनबाटै राजासहितको हिन्दुराष्ट्र घोषणा गर्नेछौं ।

यति बेला राजनीतिक फाँटमा राप्रपा महाधिवेशनको चर्चा छ । राप्रपा महाधिवेशन हुनै पर्ने थियो । किनभने तीनवटा घोडाले एउटा रथ तान्न सक्दैन । त्यसैले पनि एउटा सफल नेतृत्वको खोजीमा हामी छौं । राप्रपाको नेतृत्व देश निर्माण र युवाहरुलाई स्वरोजगार सृजना गर्न सफल हुनेछ । अब सक्षमहरुलाई पनि स्थान दिँदै, नयाँ पिँढीहरुलाई पनि स्थान दिँदै, नयाँ पिँढीहरुलाई पनि अघि बढाउन राप्रपाको नयाँ नेतृत्व अघि बढ्नेछ भन्ने हामीले विश्वास लिएका छौं । आगामी महाधिवेशनमा युवाहरुको भूमिका महत्वपूर्ण हुनेछ । राप्रपाले सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई एकताबद्ध गरेर आफ्नो माग सडक वा सदनबाट स्थापित गर्नेछ र गराउनेछ ।यति बेला हाम्रा मागबारे हामीले सडकमा बोलिरहेका छौं । सडक संघर्षमा लगिरहेका छौं । देशभर हाम्रा नेता–कार्यकर्ताहरु पूर्णरुपमा आन्दोलनमा सहभागी हुनुभयो । मोटरसाइकल ¥यालीदेखि दबाबमूलक विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । सदनमा राप्रपाको एक स्थान मात्र छ, तर पनि राजेन्द्र लिङ्देन दाइले जोडतोडका साथ सदनमा हाम्रा एजेन्डा उठाइरहनुभएको छ । अब यो राप्रपाको संघर्षलाई सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, राजवादीले साथ दिनु जरुरी छ ।सरकारको लागि सरकार बनाउनुभन्दा मुलुकमा स्वार्थहीन व्यक्तिको जरुरी छ । कुनै पार्टी संस्थालाई बाइपास गरेर मुलुकको समस्या हल हुँदैन । मुलुकलाई राम्रोसँग चलाउन सक्ने सबै पक्षको विश्वास भएको व्यक्ति अहिलेको आवश्यकता हो ।

राप्रपाको संगठन देशैभरका सबै जिल्ला, नगर, गाउँ तहसम्म बलियो छ । संगठन विस्तारलाई तीव्ररुपमा अगाडि बढाइएको छ । आगामी निर्वाचनमा यो संगठन अझ सशक्त भएको पुष्टि हुनेछ ।‘साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई स्मरण गर्ने बेला आएको छ । अहिलेको अवस्थामा सम्पूर्ण नेपाली एकजुट भएर विकास निर्माणमा लाग्नुपर्छ । साथै परापूर्वकालदेखि चलिआएको हिन्दु धर्म र राजसंस्थाको पुनर्वहालीका लागि सघाउन राप्रपा आग्रह गर्दछ ।
(लेखक कट्वाल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्