पूरा हुने छाँट छैन खेलकुदको ‘ड्रिम प्रोजेक्ट’



हेटौंडा, (नेस)  ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी खेलाडीले बन्द प्रशिक्षणमा राखी अभ्यास गराउन हेटौंडा–६, गौरीटारमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालिएको छ ।पाँच वर्षभित्र निर्माणसम्पन्न गर्न दुई अर्ब ५० करोड लाग्ने अनुमान गरिएको प्रतिष्ठानले ११ वर्ष बित्दासमेत अनुमानित बजेट पाउन सकेन । खेलकुद क्षेत्रलाई सरकारले बेवास्ता गरेको गुनासो सरोकारवालाले उठाइरहेका बेला निर्माण थालिएको एकेडेमी नेपालको बढी लगानी रहेको खेलकुद योजना हो । निर्माण सम्पन्न भएपछि खेलाडीमा भएको खेलकला पहिचान गरेर तिखार्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सरकारको छ ।
२२ बिगाहा १९ कठ्ठा क्षेत्रफलमा फुटबल रंगशाला अभ्यास ग्राउन्ड, क्रिकेट मैदान, स्विमिङपुल, महिला र पुरुषका लागि अलग होस्टल तथा प्रशासनिक भवनलगायत संरचना निर्माण गर्ने राष्ट्रिय खेलकुद प्रतिष्ठानको योजना थियो ।

प्रतिष्ठानको लागत अनुमान त्यसबेला २ अर्ब ५० करोड थियो । हालसम्म १२ करोड मात्र लगानी भएको छ । एउटा पुरुष होस्टल र दुई वटा कवर्डहल बनाइएका छन् । प्रदेश सरकारको लगानीमा रंगशाला र प्यारापिट अघि बढे पनि पूरा हुन सकेको छैन । निर्माण जारी रहेको केन्द्रीय प्रतिष्ठान स्पोर्ट्स युनिभर्सिटीका रुपमा प्रस्ताव गरिएको छ ।हालसम्म बागमती प्रदेश सरकारले दिएको २५ करोडको टेण्डर आह्वान भएको खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानु लामाले जानकारी गराउनुभयो । जसोतसो बनेका संरचना पनि राष्ट्रिय खेलकुद प्रतिष्ठान वा प्रदेश सरकार कसले सञ्चालन गर्ने भन्नेमा विवाद छ । प्रतिष्ठान सञ्चालनमा आ–आफ्नै दाबी हुँदा बनेका पूर्वाधारसमेत प्रयोगमा आउन सकेका छैनन् ।यी दुई निकायमध्ये कसले सञ्चालनमा ल्याउने भन्नेबारेमा द्विविधा रहेको खेलकुद विकास समिति मकवानपुर प्रमुख राजन दाहालले बताउनुभयो । अलमल्लमा भएकै कारण बनेका संरचनाहरू समेत प्रयोगमा आउन नसकेको दाहालको निष्कर्ष छ ।सरकारी उदासिनताका कारण प्रतिष्ठान छिटै पूरा नहुने देखिएको छ । सञ्चालनको नीति नहुँदा बनेका केही पूर्वाधार अलपत्र छन् । खेलाडी बन्द प्रशिक्षणमा राख्न निर्माण गरिएको होस्टल हाल कोभिडका संक्रमित राख्ने आइसोलेसन वार्डका रूपमा प्रयोग भइरहेको छ ।

नेपाली खेलुकदको ‘ड्रिम प्रोजेक्ट’ हो–केन्द्रीय खेलकुद प्रतिष्ठान । नेपाली खेलकुदमा पूर्वाधार अभाव खड्किएको गुनासो गर्दौ सरकारी तवरबाट निर्माण थालिएको रंगशालाले बामे सर्न सकेको छैन । नेपाली खेलजगत्कै महत्वाकांक्षी मानिएको केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणका निमित्त सरकारले बजेटमार्फत् न्यून रकम विनियोजन गर्दै आएको छ । यही चालाले २० वर्षमा पनि सरकारको ‘ड्रिम प्रोजेक्ट’ पूरा हुने छाँट देखिँदैन । ‘छुट्याइएको बजेट, निर्माण गति र बढ्दो लागतका कारण तोकिएभन्दा धैरै समयपछि पनि निर्माण सम्पन्न हुने देखिँदैन,’ दाहालले दाबी गर्नुभयो ।मास्टर प्लानअनुसार एकेडेमीमा प्यारापिट, पौडी पोखरी, फुटबल मैदान, बहुद्देश्यीय हल, औषधि उपचार विशेष सुविधा, प्रशासनिक ब्लक, पानी ट्यांकी र पानी प्रशोधन प्रविधि, महिला आवास, लनटेनिस, पार्किङ तथा रिक्रियसन ब्लकको निर्माण बाँकि छ । क्रिकेटका लागि मैदान नपुग्ने भए पनि नेट प्राक्टिसस्थल निर्माण गर्ने योजना सरकारको छ ।

राखेपले सरकारले मात्र एकेडेमी निर्माण गर्दा धेरै वर्ष लाग्ने भन्दै दातृ राष्ट्रहरूसँग सहयोगका लागि आग्रह गर्ने योजना बनाए पनि हालसम्म काम अगाडि बढेको छैन । सरकारले द्रुतमार्ग र सुरुङ मार्ग निर्माणमा चासो दिएपछि राजधानी र हेटौंडाको दूरी छोटो हुने देखिएपछि राखेपले पछिल्लो समय रंगशाला निर्माणमा सक्रियता देखाएको थियो । तर, सोहीअनुसार बजेट नछुट्याएको प्रति यहाँका राजनीतिक दल तथा खेलसम्बन्ध व्यक्तिहरु रुष्ट छन् । २०६६ साल जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठान शिलान्यास गर्नुृभएको थियो ।

प्रतिक्रिया दिनुहोस्