फ्रान्सको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी)  ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनोट खेलअन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ ।आइतबार राति भएको खेलमा फ्रान्सले तुलनात्मक रूपमा कमजोर टोली कजाखस्तानलाई उसैको भूमिमा २–० गोलअन्तरले पराजित गरेको हो । यसअघि, पहिलो खेलमा युक्रेनसँग १–१ को बराबरीमा रोकिएको फ्रान्सले दोस्रो खेलमा भने स्पष्ट जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।
कजाखस्तानको एस्टाना एरिना रंगशालामा भएको सो खेलमा फ्रान्सले एक गोल उपहारमा पाएको थियो । फ्रान्सका लागि खेलको १९औं मिनेटमा पहिलो गोल उसामान डेम्बेलले गरेका थिए । त्यसपछि फ्रान्सले खेलको ४४औं मिनेटमा आत्मघाती गोलबाट अग्रता दोब्बर बनायो ।

एन्टोनी ग्रिजम्यानले हानेको कर्नर किकबाट आएको बललाई कजाखस्तानका सेह्री माल्यीले हेडिङमार्फत् क्लियर गर्न खोज्दा आफ्नै गोलपोस्टमा बल छिराएपछि फ्रान्सलाई २–० को अग्रता मिल्यो ।सो खेलमा युवा स्टार क्लियन एमबाप्पे भने पेनाल्टीमा गोल गर्न असफल भए । खेलको ७५औं मिनेटमा पाएको पेनाल्टीमा उनको प्रहार कजाखस्तानका गोलकिपरले सहजै छेकेर बाहिर फालिदिएका थिए । यो जितपछि समूह ‘डी’ मा रहेको फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ ।
छनोटअन्तर्गत नै भएको अर्को खेलमा स्पेन कमब्याक जित निकाल्न सफल भयो । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई उसैको भूमिमा २–१ ले पराजित गरेको हो । स्पेनले खेलमा पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । समूहमा स्पेनको यो पहिला जितसमेत हो ।

घरेलु टोली जर्जियाका लागि खेलको ४३औं मिनेटमा खभिचाले गोल गरेका थिए । तर, त्यसपछि दोस्रो हाफमा स्पेन खेलमा फर्कियो । स्पेनले इन्जुरी समयमा विजयी गोल गरेको थियो । खेलको ५६औं मिनेटमा युवा खेलाडी फेर्रान टोरेजले गोल गरेर खेल १–१ बनाएका थिए । त्यसपछि बराबरीतिर अग्रसर उक्त खेलको अन्तिम समयमा स्पेन भाग्यशाली बन्यो । ९० मिनेटपछि थप भएको समयको दोस्रो मिनेटमा युवा खेलाडी ड्यानी ओल्मोले गोल गरेपछि स्पेनको जित पक्का भयो । यो जितपछि स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ त्यस्तै, डेनमार्कले माल्डोभामाथि गोलको वर्षा गरेको छ । यसअघि, पहिलो खेलमा इजरायललाई २–० ले हराएको डेनमार्कले आफ्नो घरेलु मैदानमा पाहुना टोली माल्डोभामाथि ८–० को फराकिलो गोलअन्तरको जित निकालेको हो । खेलको १९औं मिनेटमा कास्पर डोल्वर्गले डेनमार्कको गोलको खाता खोलेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत् गोल गर्दा दोस्रो गोल ४८औं मिनेटमा गरे । मिकेल डाम्सगार्डले खेलको २१औं र २९औं मिनेटमा गरी दुई गोल गरेका थिए ।

त्यसैगरी, जेन्स स्ट्रेगर लार्सेनले ३५औं मिनेटमा गोल गर्दा डेनमार्क ६–० ले अगाडि रह्यो । त्यसपछि सातौं गोल खेलको ८१औं मिनेटमा रोबर्ट स्कोभले गरे भने ८९औं मिनेटमा मार्कुस इङ्भार्टसेनले गोल गरेर टिमको जित ८–० ले पक्का गरे ।यो जितपछि समूह ‘एफ’ मा रहेको डेनमार्कले दुवै खेल जितेर ६ अंक जोडेको छ । त्यस्तै, इंग्ल्यान्डले पनि आइतबार राति भएको खेलमा अल्बानियालाई उसैको घरेलु मैदानमा २–० ले पराजित ग¥यो । इंग्ल्यान्डलाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान ह्यारी केन र युवा स्टार मासोन मोउन्टले एक–एक गोल गरेका थिए । यो जितपछि इंग्ल्यान्ड दुई खेलबाट ६ अंक जोडेर समूह ‘आई’ को शीर्ष स्थानमा रहेको छ । छनोट खेल अन्तर्गत नै भएको आफ्नो दोस्रो खेलमा जर्मनीले पनि साँघुरो गोलअन्तरको जित निकालेको छ । जर्मनीले रोमानियालाई उसैको घरेलु मैदानमा १–० ले पराजित गरेको हो । तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध जर्मनीले खेलभरि नै पकड जमाएको थियो । जर्मनीका लागि खेलको १६औं मिनेटमा सेर्गे गेनाब्रीले गरेको एक मात्रै गोल जितका लागि पर्याप्त बन्यो । यो जितपछि समूह ‘जे’ मा रहेको जर्मनीले सुरुआती दुई वटै खेल जितेर ६ अंक जोडेको छ ।
त्यसैगरी, अर्को खेलमा इटालीले पनि बुल्गेरियालाई उसैको घरेलु मैदानमा २–० ले हरायो । इटालीका लागि खेलको ४३औं मिनेटमा आन्ड्रेया बेलोट्टीले पहिलो गोल पेनाल्टीमार्फत् गर्दा दोस्रो गोल ८२औं मिनेटमा म्यानुएल लोकाटेल्लीले गरेका थिए । यो जितपछि इटालीले सुरुआती दुई वटै खेल जितेर ६ अंकसहित समूह ‘सी’ को शीर्ष स्थान ओगटेको छ । त्यस्तै, स्विट्जरल्यान्डले पनि लिथुआनियालाई १–० ले हरायो । योसँगै स्वीजरल्यान्डले खेलेको दुई वटै खेल जितेर ६ अंक जोडेको छ । आइतबार राति भएको अन्य खेलमा अर्मानियाले आइसल्यान्डलाई २–० ले हराउँदा अस्ट्रियाले फारोए आइसल्यान्डलाई ३–१ ले तथा हंगेरीले सान मारिनोलाई ३–० ले पराजित गर्दै तीन अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्