पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन



काठमाडौँ । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८ :२० मा निधन भएको उहाँका ज्वाई डा नारायण श्रेष्ठले जानकारी दिनुभयो । राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित हुनुहुन्थ्यो । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहनुभएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आउनुभयो ।

नेकपा ९संयुक्त० स्थापनामा उहाँको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उहाँलाई मन्त्री बन्न आग्रह गरिएपनि उहाँले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गर्नुभयो । नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आउनुभएको उहाँलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ ।

संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गर्नुभयो । पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता हुनुहुन्छ । यस्तै, उहाँका तीन छोरी हुनुहुन्छ । दिवङ्गत नेता मानन्धरको मङ्गलबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने ज्वाई श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्