प्रेरणाको स्रोत बन्दै विकटकी वडा सचिव , जन्मदिनमा विपन्न बालबालिकालाई न्यानो कपडा



ललित सिंह बझाङ ।

जिल्लाको साइपाल गाउँपालिका–५ की वडा सचिव सुम्निमा गिरीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई न्यानो लुगा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला गिरीले आफ्नो २१ औं जन्मदिनको अवसरमा आफ्नै वडाका सम्पूर्ण बालबालिका तथा गाउँपालिकाभरीका दलित बालबालिकालाई न्यानो लुगा वितरण गरेकी हुन् ।

विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत १७० जना बालबालिकालाई आफ्नै खर्चमा न्यानो लुगा वितरण गरेको वडा सचिव गिरीले जानकारी दिएकी छन् । बाह्रै महिना चिसो हुने साइपाल गाउँपालिकामा चिसोबाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन लुगा वितरण गरेको सचिव गिरीले बताइन् ।

‘सानो उमेरमा बढी हौसला पनि चाहिन्छ,’ गिरीले भनिन्, ‘कोहि बालबालिकाको परिवार सधैं कपडा किनिरहन पनि असक्षम छन्, भनेको बेला किन्न पाइँदैन, त्यसैले बालबालिकालाई न्यानो लुगा दिएकी हुँ ।’ पछिल्लो पुस्ताले रमाइलो गरेर जन्मदिन मनाउनुको साटो यस्ता क्रियाकलाप गर्ने हो भने सहयोग पनि पुग्ने उनले बताइन् । कर्मचारीले यसरी जन्मदिन गाउँमै नयाँ तरिकाले जन्मदिन मनाउनु अरुका लागि सिक्न लायक बनेको स्थानीय तिलक विकले बताए ।

प्रतिक्रिया दिनुहोस्