एन्फा प्रेसिडेन्ट लिगमा सुदूरपश्चिम प्रथम



बाँके, (नेस) ।

नेपालगन्जमा सञ्चालन भएको एन्फा प्रेसिडेडन्ट लिग फुटबल प्रतियोगितामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब, कैलाली प्रथम भएको छ ।
सुदूरपश्चिमको लिग च्याम्पियन स्टार सिटीले अपराजित भएर एन्फा प्रेसिडेन्ट लिगको उपाधि जितेको हो । एक खेलअघि नै लिग च्याम्पियन भएको स्टार सिटीले आइतबार भएको अन्तिम खेलमा पनि जित निकाल्यो । स्टार सिटीले अन्तिम खेलमा गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लब, लमजुङलाई ३–२ गोलले पराजित गरेको हो ।

वागमती प्रदेशको धादिङ समाज, धादिङसँग अन्तिम समयमा गोल गरेर हारबाट जोगिएको स्टार सिटीले अपराजित यात्रा कायमै राख्यो । टिमले प्रतियोगितामा १६ अंक जोड्यो ।लुम्बिनी प्रदेशको लिग च्याम्पियन नेपालगञ्जको धम्बोझी क्लब, दोस्रो भएको छ । धम्बोझीले चार खेलमा जीत निकाल्यो भने दुईमा पराजय बेहो¥यो । चार खेल जितेको धम्बोझी १२ अंक जोड्दै लिगमा दोस्रो भएको हो ।लिगमा २ नम्बर प्रदेशको लिग च्याम्पियन मनकामना युवा क्लब, रौतहट तेस्रो भएको छ । आइतबार भएको अन्तिम खेलमा १ नम्बर प्रदेशको लिग च्याम्पियन सैनिक फुटबल क्लब, झापालाई २–१ गोलले पराजित गरेपछि रौतहट तेस्रो भयो। रौतहटले तीन जित निकालेर ९ अंक जोडेको हो । गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लब, लमजुङको समान ९ अंक भए पनि हेड टु हेडका आधारमा रौतहट तेस्रो भयो भने लमजुङ चौथो भयो ।

एन्फा प्रेसिडेन्ट लिगमा शीर्ष चारभित्र पर्ने टोलीले शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न पाउने छन् । सात वटा प्रदेशका लिग च्याम्पियनले भाग लिएको खेलमा १ नम्बर प्रदेशले ७ अंक, वागमतीले ६ अंक र कर्णाली प्रदेश एक अंक जोडेर पुच्छारमा परे । प्रतियोगिताको विजेता स्टार सिटीले १० लाख र उपविजेता धम्बोझीले ५ लाख रुपियाँ पुरस्कार पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्