बंगलादेशविरुद्ध २२ वर्षपछि फाइनल खेल्दै नेपाल



नेपाल समाचारपत्र, काठमाडौं  । 

जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज दशरथ रंगशालामा हुँदै छ । नेपालको राष्ट्रिय टिम र बंगलादेशको राष्ट्रिय टिमबीच उपाधिका लागि भिडन्त हुनेछ । बंगलादेशले एक जित र एक बराबरीसँगै ४ अंकसहित शीर्ष स्थान ओगेटेको हो । त्यस्तै आयोजक टिम नेपालले दुवै खेल बराबरी खेलेर २ अंकसहित दोस्रो स्थान हासिल ग¥यो । तेस्रो स्थानमा रहेको किर्गिस्तानको यु–२३ टिम भने १ अंकसहित पुछारमा रहेपछि नेपाल फाइनलमा पुग्यो ।

नेपालले बंगलादेशसँग आफ्नै घरेलु भूमिमा तेस्रोपटक फाइनल खेल खेल्न लागेको हो । पछिल्लोपटक सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । सो खेल बंगलादेशले १–० ले जितेर नेपाललाई आफ्नै घरेलु मैदानमा घरेलु दर्शकसामु स्वर्ण पदक जित्नबाट वञ्चित गरेको थियो ।सो निरास क्षणको बदला लिने मौका छ अहिले । यसअघि १९८४ मा भएको पहिलो दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको थियो । त्यसो त नेपालले बंगलादेशसँग पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । पछिल्लो जित भनेको नेपालले अगस्ट २०१३ मा पाएको थियो । त्यस बेला अनिल गुरुङ र भरत खवासको गोलको सहयोगमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो ।

यसपछि चार खेल खेलेकोमा दुईमा बंगलादेश जित्यो भने दुई खेल गोलरहित बराबरीमा समाप्त भएको थियो, जसमा जारी थ्री नेसन्स कपको लिग खेल पनि थियो । साथै नेपालले गत सेप्टेम्बरमा विश्वकप छनोटअन्तर्गत खेलमा चिनियाँ ताइपेईलाई २–० ले हराएयता गोल गर्न पनि सकिरहेको छैन ।उक्त खेलमा दुवै गोल अञ्जन विष्टले गरेका थिए ।अहिले अञ्जनले नेपाली टिमको फरवार्ड विधामा नेतृत्व गरिरहेका छन् । उनले पहिलो खेलमा किर्गिस्तानविरुद्ध होस् या दोस्रो तथा अन्तिम लिग खेलमा बंगलादेशविरुद्ध होस् गोल गर्न चुकेका थिए । यस्तो नतिजाका कारण नेपालले गोल गर्न नसकेको खेलको संख्या ७ पुगिसकेको छ । नेपालका लागि यो फाइनलमा गोलको खडेरी तोड्न सक्ने आस पनि गर्न सकिन्छ, त्यही २२ वर्षअघि फाइनलमा हारेको बदला लिने मौका पनि छ ।

नेपालको विश्वकप २०२२ अन्तर्गत एसिया महादेशको छनोट खेल नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले ५ हजार डलर ( करिब ५ लाख ७५ हजार नेपाली रुपियाँ बराबर) प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले ३ हजार डलर (करिब ३ लाख ४५ हजार नेपाली रुपियाँ बराबर) प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्