प्रहरीले हतियार हराउनु समाजविरुद्धको अपराध नठहरिने



नेपाल समाचारपत्र, काठमाडौं ।

सर्वोच्च अदालतले सेवामा रहेका प्रहरीले आफ्नो जिम्मामा रहेको हतियार हराएमा नैतिक पतन देखिने वा समाजविरुद्धको अपराध ठहर नहुने बताएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र सुष्मालता माथेमाको संयुक्त इजलासले सेवामा रहेका प्रहरीले आफ्नो जिम्मामा रहेको हतियार हराएमा नैतिक पतन देखिने वा समाजविरुद्धको अपराध ठहर नहुने फैसला गरेको हो।सोलुखुम्बु जिल्ला नेले गाउँपालिका वडा नं ५ स्थायी घर भई प्रहरी नायव निरीक्षक भविन्द्रबहादुर थापाविरुद्धको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो।

२०६२ साल कात्तिक २९ गते ड्युटी सकेर घर जाने क्रममा प्रहरी नायव निरीक्षक थापाले आफ्नो साथमा रहेको पेस्तोल र त्यसमा लोड भएको ६ राउन्ड म्याग्जिनजडित गोली हराउनुभएको थियो। सो घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदनको आधारमा तत्कालीन प्रहरी प्रमुख श्यामभक्त थापाले हतियार हराउने प्रहरी नायव निरीक्षक थापालाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउनुभएको थियो। प्रहरी नायव निरीक्षक थापाले बाटोमा खाजाघरमा खाजा खाने क्रममा अञ्जानमा आफ्नो साथमा रहेको हतियार हराएको दाबी गर्नुभएको थियो।प्रहरी प्रमुखको सो निर्णयविरुद्ध पुनरावेदन दिइएकोमा तत्कालीन गृहमन्त्री भीम रावलबाट शरु निर्णयलाई नै सदर गरिएको थियो।

थापाले अञ्जानमा हतियार हराएको अवस्थामा पनि आफूलाई सेवाबाट बर्खास्त गरिनु अन्यायपूर्ण भएको भन्दै सो कार्यलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। सर्वोच्चले थापालाई सेवामा पुनर्बहालीको आदेश दिन अस्वीकार गरेको भए पनि भविष्यमा सरकारी नोकरीका लागि अयोग्य ठहरिनेु भन्ने शब्दलाई भने बदर गरिदिएको थियो।सर्वोच्चको २०७६ साल असार १५ गते नै सुनाएको आदेशको पूर्णपाठ भने हालै सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्