अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह



नेपाल समाचारपत्र, काठमाडौं  ।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहनसक्ने देखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। स्वास्थ्यमा विविध समस्या देखा पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्थामा मास्कको प्रयोग गर्न र पूरै शरीर ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ।

वायु प्रदूषणले सबैभन्दा बढी जेष्ठ नागरिक र बालबालिकालाई असर पार्ने भएकाले उक्त उमेर समूहकाहरुले उच्च सतर्कता अपनाउनुपर्ने स्वास्थ्य विशेषज्ञहरुको भनाइ छ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले वायु प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वास-प्रश्वासमा गाह्रो हुने समस्यामा वृद्धि भएको जानकारी दिँदै प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्नसक्ने सम्भावना रहेको बताउनुभयो। उहाँले प्रदूषणले दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने, बालबालिकाको वृद्धि र विकासमा असर गर्ने तथा क्यान्सरको समस्या निम्त्याउन पनि सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभयो।मन्त्रालयले यस्तो बेलामा अनावश्यक गाडी प्रयोग नगर्ने, वैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य वैकल्पिक उपाय अपनाउने र विकास निर्माणका काममा धूलो कम हुने उपाय अवलम्बन गर्ने पनि आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। केही दिनदेखि वायु मण्डलमा देखिएको धूलो र धूँवाका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धूँवाले मौसम बिग्रिएको भन्दै महाशाखाले डढेलो नियन्त्रण आएपछि मात्रै मौसम सफा हुने तर डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नभएको बताएको छ।

मौसम विभागले वायुमण्डल स्थीर रहेको र हावा तलमाथि नभएका कारण उपत्यकाको आकाश तुवाँलोले ढाकेको बताएको छ। सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मंगलबारसम्म उक्त वायु काठमाडौं प्रवेश गरेसँगै मौसममा केही सुधार आउने मौसम विभागको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्