सांस्कृतिक पहिचानयुक्त स्मार्ट सिटीको सपना देख्ने चिरिबाबु



चिरिबाबु महर्जन ललितपुरवासीले निकै रुचाएका व्यक्ति र सायद देशकै लोकप्रिय मेयरको शीर्ष लहरमा आउने सिर्जनात्मक क्षमताका व्यक्तित्व हुनुहुन्छ । विश्व सम्पदा सूचीमा रहेको ललितपुर महानगरलाई परम्परागत मौलिक पहिचान दिलाउने र आधुनिक सुविधा सम्पन्न ‘स्मार्ट’ पनि बनाउने उद्देश्यमा समर्पित मेयर महर्जन कहिले साइकल र कहिले ब्रुमर, कहिले सडक मर्मत त कहिले सरसफाइ अभियानमा आफैं अघि सरेर काम गरिरहेका देखिनुहुन्छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक पहिचान बोकेको पाटन नगरलाई आर्थिक समृद्धि र मानव विकास सूचकांकमा पनि अगाडि ल्याउन मेयर महर्जनसँग कस्ता योजना छन् ? यो र यस्तै विविध प्रश्नको जवाफ खोज्न कपिल काफ्ले र भूपराज बस्याल मेयर महर्जनकै ललितपुर महानगरपालिकास्थित कार्यकक्षमा पुगेका छन् ।

ललितपुर महानगरको विकासका लागि के गर्दै हुनुहुन्छ ? पछिल्ला कामबारे बताइदिनुस् न !

देशको विकाससँंग जोडिएको गम्भीर प्रश्न गर्नुभयो । नगर विकासका लागि हाम्रा योजना नेपाल सरकारले हाल चालिरहेको भन्दा अलि फरक छ । जस्तो सडक निर्माणकै कुरा गरौं । हामीले बाटो पिच गर्ने विधि आफ्नै बनाएका छौं । हामीले विदेशी मुलुकहरुले अपनाउने विकास नीतिलाई बढी प्राथमिकता दिएर काम गरिरहेका छौं । उदाहरणका लागि बाटो निर्माण गर्ने कम्पनीसँग कम्तीमा पनि ६ वर्ष बाटोको ग्यारेन्टी हुने हस्ताक्षर गरेका छौं । हस्ताक्षर मात्रै होइन त्यहीँअनुरूप काम पनि गरिरहेका छौं । अहिले निर्माण हुने बाटो कम्तीमा पनि १.५ इन्चको पिच हुनेछ जसले गर्दा हाम्रो देशमा हुने वर्षाको भेललाई थेग्न सकोस् । वर्षात्को पानीले क्षति पु¥याउने सडक शहर कुरूप बनाउने आधार बन्छ । त्यसैले सडक बनाउने क्रममा नमुना परीक्षण हुने गर्छ । पिचको एक टुक्रा ल्याब परीक्षण गरेर हेरिन्छ, त्यसले कुन परिमाणको धक्का सहन सक्छ भनेर जाँचिन्छ । नगरका भित्री सडकहरु नै किन नहोउन्, सामान्यतः त्यसमा ठूला मालवाहक गाडीहरु त हिँड्दैनन्, तर पनि हामी त्यस्ता सवारीसाधन चले पनि केही नहुने गरी पिचको मोटाइ कायम राख्छौं । बाटोमा पुग्ने क्षति थेग्न सक्छ कि सक्तैन र बाटो टिकाउ हुन्छ कि हुँदैन भन्नेमा हामी केन्द्रित हुन्छौं । पिचको भारवहन क्षमता ९८ प्रतिशतसम्म कायम हुनुपर्छ, यसरी निर्माण सम्पन्न भएको बाटोलाई मात्रै नगरले स्वीकृत दिने हुँदा हाल निर्माण भइरहेका बाटा टिकाउ हुनेमा हामी विश्वस्त छौं ।बाटो विस्तारका कारण पुराना घरहरु भत्किन सक्ने भएकाले स्थानीयको सहयोग नहुने, अवरोध सिर्जना गरिने अवस्थाहरू देखिन्छन् ।

ललितपुरको अवस्था चाहिँ के छ ?
विकास गर्दै जाँदा समस्या त देखापरिहाल्छन् । जनतालाई सुविधा दिनकै लागि चालिएका योजनाहरुले जनताको साथ सहयोग पाउनै पर्छ । ललितपुरमा पनि केही अवरोध र असजिलो अवस्थाको सामना गर्नु नपरेको होइन, तर पनि जटिल समस्या छैन । यसरी आउने समस्याको प्रकृति हेरेर स्थानीय, सम्बन्धित क्षेत्रको वडाध्यक्ष, पालिका र सरोकारवालाहरु बसेर समाधानको बाटो खोज्दै विकासका कामलाई तीव्रता दिएका छौं ।खास गरी, सांस्कृतिक सम्पदाको पहिचान बोकेको महानगरपालिकामा संस्कृतिको प्रवद्र्धन हुने गरी कसरी काम भइरहेको छ ?
नेपालमा पर्यटन क्षेत्रमा अथाह सम्भावना छ । पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको यस महानगरपालिकाका सम्पदा जोगाइराख्नु मात्रै होइन, त्यसको प्रचार–प्रसार गरी देशकै पर्यटन क्षेत्रको विकासमा फड्को मार्न सहयोग गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । त्यही जिम्मेवारीमा रहेर महानगरपालिकाले काम गरिरहेको छ । पर्यटकहरु नेपालमा न चिल्ला बाटा हेर्न आउँछन् न ठूल्ठूला बिल्डिङ । उनीहरु नेपाल आउने भनेको यहाँको सम्पदा हेर्न हो । तिनै सम्पदाको संरक्षण महानगरपालिकाको मुख्य एजेन्डाभित्र पर्छ । ललितपुर महानगरपालिका विश्व सम्पदा सूचीमा सूचीकृत भएको हुँदा पनि यहाँ पर्यटकको आक्रर्षण बढ्नु स्वाभाविक हो । पर्यटकलाई आकर्षित गरिराख्न मूर्त सम्पदा र अमूर्त सम्पदा दुवैको भूमिका महत्वपूर्ण हुन्छ । मठ–मन्दिर, बौद्ध गुम्बा, वास्तुकला, मूर्तिकला आदि मूर्त छन् भने धर्म–संस्कृति, परम्परा, भजनकीर्तन, गानाबजाना– यी अमूर्त सम्पदा हुन् । पर्यटन विकासका लागि मूर्त सम्पदा र अमूर्त सम्पदा दुवैको संरक्षण, सम्वद्र्धन र प्रदर्शन आवश्यक छ । यी दुवैलाई एकैसाथ लैजानका लागि महानगरले काम गरिरहेको छ ।

मूर्त सम्पदा र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि ललितपुर महानगरपालिकाले कसरी काम गर्दै छ ?
मूर्त सम्पदाको निर्माण, पुनर्निर्माण र संरक्षणमा गुणस्तरीयता कायम गर्ने हो भने बहुपक्षीय चिन्तन हुनु आवश्यक छ । सम्पदाको निर्माण कसरी भइरहेको छ भन्ने पक्षलाई ख्याल नगर्ने हो भने अन्य जति पनि पक्षमा ध्यान दिए पनि परिणाम सकारात्मक आउँदैन भन्ने हाम्रो विश्वास छ । जस्तो, पाटनमा भएका मठ–मन्दिर, विहार, गुम्बा आदि पुराना धरोधरहरुको पुनर्निर्माणको टेन्डर प्रक्रियाकै कुरा गरौं । नेपालको नियमअनुसार जसले सस्तो दररेटमा बनाउँछु भनेर कोटेसन दिन्छ, ठेक्का उसैले पाउँछ । तर, के गुणस्तरीयतामा सम्झौता गरेर सस्तो पक्षलाई मात्र ध्यान दिँदा हाम्रा गुणस्तरयुक्त पुराना धरोहरको पहिचान कायम रहन्छ ?यस प्रकारको टेन्डर व्यवस्था र नीतिले सस्तोमा काम त सम्पन्न होला तर उक्त सम्पदाले दिन खोजेको सन्देश अथवा त्यसको महत्व झल्किन नसक्ने हुन्छ । त्यसैले यस्ता सम्पदा दिगो, टिकाउ र आकर्षक बनाउनका लागि सम्पदा निर्माण वा पुनर्निर्माणका लागि १० करोडसम्मको योजना टेन्डर गर्न नपर्ने नीति आवश्यक छ भनेर मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव राखें । हाम्रो आग्रहअनुरूप सम्माननीय प्रधानमन्त्रीले नीति पारित गर्ने व्यवस्था मिलाउनुभयो । परिणामस्वरूप हाल निर्माण भएका सम्पदा बीचैमा अलपत्र हुने, कम गुणस्तरको हुने लगायतका समस्या देखापरेका छैनन् ।

यस नीतिले पाटन क्षेत्रका स्मारक निर्माणमा कस्तो प्रभाव पारेको छ ?
चुनाव हुनुभन्दा पहिले रातो मच्छिद्रनाथको शिखर शैलीको मन्दिर, कुम्भेश्वरको जगत्नारायण मन्दिर, राधाकृष्ण मन्दिर, पाटन सुनधाराको कृष्ण मन्दिर टेन्डर गरेका मन्दिर बन्न सकेनन् । यो चिन्ताको विषय थियो । यसलाई उदाहरण मानेर प्रधानमन्त्रीसमक्ष हामीले नीतिको कुरा उठाएका थियौं । अन्ततः हाम्रो प्रयासले सार्थकता पायो र स्थानीय उपभोक्ता समितिले १० करोडसम्मका निर्माणमा टेन्डर गर्दैन, आफैं बनाउन पाउँछ । यो नयाँ नियम आएसँगै योजना अलपत्र भएका छैनन् र हुने सम्भावना पनि देखिँदैन । नगरबासी खास गरी व्यापारीहरूको आस्थाको धरोहर भीमसेन मन्दिर निर्माणमा स्थानीय व्यवसायीबाट जुन प्रकारको सहयोग र सहकार्य भयो यो सबैका लागि उदाहरणीय हुन सक्छ । महानगरपालिकाले होस्टे मात्र गरेको थियो, स्थानीय जनता हैंसे भन्दे आइपुगे । राम्रो आर्थिक सहयोग पनि जुट्यो, बहत्तरको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका धरोहरको पुनर्निर्माणमा यस नीतिको सकारात्मक प्रभाव देखिएको छ । भीमसेन मन्दिरको पुनर्निर्माणमा जुन गुणस्तरीयता देखियो, त्यो सस्तो टेन्डरबाट सम्भव थिएन । नेपालको सबैभन्दा धेरै गोलाइ रहेको देबु तलेजु मन्दिर, नरसिंह मन्दिरलगायतका धरोधरमा दक्ष कलाकार, कच्चा सामग्री र सीपको प्रयोग गर्दै निर्माण–पुनर्निर्माण भएको छ ।

यी सबै मूर्त सम्पदाका लागि नयाँ नीति उपयोगी भएको त बताउनुभयो, तर अमूर्त सम्पदाको प्रवद्र्धन अझ चुनौतीपूर्ण होला नि ?
अमूर्त सम्पदातिर पनि महानगरपालिकाले काम गरिरहेको छ । हामीले पाटनका सबै जात्राका लागि बजेट छुट्याएका छौं । विगत २३ वर्षदेखि आर्थिक अभावका कारण बन्द रहेको खड्ग जात्रालाई समेत हामीले हाल आएर निरन्तरता दिएका छौं । अहिले यो जात्रा रातो मच्छिन्द्रनाथ पछिको लोकप्रिय जात्रा बन्न सफल भएको छ । धेरै नाचहरु छन् जुन आर्थिक अभावका कारण बन्द हुन लागेका थिए तिनका लागि बजेटको व्यवस्थापन गरेका छौं । बन्दको अवस्थामा पुगेका जात्रा मात्रा, नाचगान आदि पुनः शुरु भएका छन् । त्यसका लागि बजेटको व्यवस्थापन गरिएको छ । जस्तो, कार्तिक नाच, रुद्रायणी नाच, हरिसिद्धि नाचका लागि अक्षय कोषको स्थापना गरेका छन् । काठमाडौंका तीनै शहरहरु जात्रा र नाचगानकै कारण मौलिक र आकर्षक छन् भन्ने यथार्थ हामीले बिर्सनु हुन्न । त्यति मात्र होइन, यहाँबाट चोरी भएर विदेशमा लगिएका मूर्तिहरु पनि नेपाल फिर्ता ल्याउने तयारीमा छौं । यसका लागि छुट्टै टिम खडा गरेका छौं ।

संस्कृति संरक्षणको धेरै कुरा गर्नुभयो । यस्तो संरक्षण योजनाबद्ध हो कि अगाडि जे देखिन्छ त्यसैको सम्बोधन मात्र हो ?
हामी जनतालाई सर्वोपरी ठान्छौं । आज म यो ठाउँमा छुु भोलि अरू कोही हुन सक्छ । अथवा जनताको मत जसले जित्न सक्छ उसैले यो जिम्मेवारी बहन गर्छ । पटक–पटक एउटै क्षेत्रलाई ध्यान दिँदा अन्य महत्वपूर्ण विषय छुट्न सक्छन् । त्यसैले मेरो कार्यकालमा भएका कामहरु केही आकस्मिक वा एड्हक भए पनि धेरैजसो योजनाबद्ध नै छन् र आगामी दिनमा पनि अहिले चालिएका योजनाहरु यसै गरी चलिरहने छन् । योजना र नीतिअनुसार भएका कामका लागि नेतृत्व परिवर्तनले पनि ठूलो असर पार्दैन भन्ने मलाई थाहा छ ।अब आर्थिक पक्षको पनि कुरा गरौं, मूर्तिकारहरूको शहर पाटनमा मूर्तिकार, कलाकार र वास्तुकला निर्माता स्थानीय जनताको आर्थिक

सुरक्षाका लागि नगरपालिकाले के गर्दै छ ?
निकै गम्भीर र सान्दर्भिक प्रश्न गर्नुभयो । यसका लागि महानगरले गम्भीर भएर सोचेको छ र त्यहीअनुरूप काम पनि गर्दै गइरहेको छ । हाम्रो प्रमुख पहिचानमध्ये यो पनि एक हो । यसका लागि विभिन्न चरणमा काम भइरहेको भए तापनि देखिने गरी वा परिणाम आउने गरी काम हुन सकेको छैन । तर, हामीले यस क्षेत्रमा काम गरिरहेका छौं । यहाँका प्रायः प्रत्येक घरमा एक जना मूर्तिकार भेटिनुहुन्छ । यहाँका जनताको मुख्य आर्थिक स्रोत यही कलाकारिता हो भन्दा पनि फरक पर्दैन । तर, कोभिडका कारण पर्यटक आउन छोड्नु र मूर्ति बिक्री नहुनु आर्थिक समस्याको विषय हो । अहिले उहाँहरूको दैनिकीमा समेत असर परेको छ । यो यथार्थ हामीबाट लुकेको छैन । दीर्घकालीनरूपमा हामीले यहाँका घरहरु बनाउँदा पुराना मोडलका बनाउने अथवा घर बनाउँदा झिंगटीका छानाहरु राख्ने सोचका साथ काम भइरहेको छ । तर, झिंगटीको छाना हाल्न जान्ने वास्तुकारको अभाव छ । हामीले भक्तपुरबाट विशेष क्षमताका वास्तुकार ल्याएर काम गर्नुपरेको छ । यस क्षेत्रमा उहाँहरुलाई सक्षम बनाउनका लागि तालिमको व्यवस्था गरेका छौं । यहाँ वर्षको ६–७ लाख पर्यटक आउने गरेको तथ्यांक छ । ती पर्यटकलाई आकर्षण गर्ने खालका कुँदेका वस्तुहरु बिक्री गर्न सकियो भने यहाँको व्यापारसमेत बढ्ने हुँदा यस्ता तालिमको आयोजनामा महानगरपालिका लागिपरेको हो । तर, ती मूर्तिकारहरुलाई हाल कोभिडबाट परेको समस्याका लागि कोभिड कोषबाट समेत सहायता पु र्‍याउने, जीविकोपार्जनमा सहयोग गर्ने काम भइरहेको छ ।

मानव विकासको सूचकांकको कुरा गर्दा आधा जनसंख्यामा रहेका महिलाको जीविकोपार्जनको पक्षलाई पनि ख्याल गरिएको छ कि ?
पाटनका केही क्षेत्रमा महिलालाई व्यापार–व्यवसायका लागि ठाउँ उपलब्ध गराउने काम भएको छ । आर्थिक स्रोतमा महिलाको पहुँच भएमा नै उहाँहरु विभेदको शिकार हुनुहुन्न भन्नेमा हामी विश्वस्त छौं । उहाँहरुको हातमा सीप र त्यस सीपको सदुपयोग गर्न सकिने अवसर छ भने मात्र लैंगिक समानता सम्भव हुन्छ । यस दिशामा महानगर सचेत छ ।नगरको मौलिक पहिचानका लागि पुराना धरोहरको संरक्षण गर्नुछ

जबकि नयाँ पुस्ता स्मार्ट सिटी पनि खोजिरहेछ, कसरी सन्तुलन गर्नुहुन्छ ?
हामीले स्मार्ट सिटीअन्तर्गत धेरै काम गरिसकेका छौं । साइकल लेन बनाएका छौं, उज्यालो शहर कार्यक्रमअन्तर्गत आवश्यकताअनुसार अटोमेटिकरूपमा चर्को र मधुरो प्रकाश दिने सडकबत्तीको व्यवस्था गरेका छौं, हरित र खुला शहरको अवधारणाअनुसार काम भएको छ । पछिल्लो समय पेपरलेस पालिका बनाउने योजनाअनुरूप काम भइरहेको छ । प्रत्येक क्षेत्रमा मोटरबाटो पुर्‍याउने उद्देश्यका साथ हाल नगरभित्रका ७३ वटा भित्री बाटोमा १९ किलोमिटर पिच गर्ने काम भइरहेको छ भने हालसम्म १४ वटा सकिसकेको छ ।

ललितपुर महानगरका लागि स्मार्ट सिटीको मूल मर्म के हो ?
स्मार्ट शहर भनेको पहिले त बाँच्न पाउने अधिकार सुनिश्चित हुनु हो । अथवा नागरिकमा बाँच्ने आधार तयार हुनुपर्छ । त्यसका लागि शहर स्वच्छ र सफा हुनुपर्छ । त्यही सफा शहर निर्माणका लागि बाटोका वारपार रुख रोपेर हरियाली बनाएका छौं । जथाभावी साइनबोर्ड राख्न मनाही गरेका छौं । यहाँ भएका पोखरी इनारलाई संरक्षण गर्दै छौं । उज्यालो शहरअन्तर्गत महानगरपालिकामा ६ सय ७९ लाइटहरुसमेत जडान गरेका छौं । त्यति मात्र होइन, चक्रपथमा समेत आधुनिक खालको लाइट राख्ने योजनामा छौं । स्मार्ट सिटी कार्यक्रमले सञ्चार क्षेत्रमा ठूलो भूमिका खेल्छ– सेवाग्राहीलाई घरमै बसेर इन्टरनेटको माध्यवबाट महानगरपालिकाले सेवा दिने प्रयास भइरहेको छ । हाल, यसको शुरुआत मात्र भएको छ । प्रयास जारी छ ।

अब विस्तारै स्थानीय चुनाव आउँदै छ, यहाँलाई नगरबासीले अर्को कार्यकाल पनि चाहेका छन् जस्तो लाग्दैन?
अहिल्यै चुनावको घोषणा गर्ने समय त भएको छैन, कार्यकाल १२–१४ महिना बाँकी छ । त्यै पनि सानैदेखि सामाजिक कार्यमा सरिक हुँदै आएँ, केही राम्रा योजना मसँग छन्, नगरबासीलाई दिने सेवा र योजना बाँकी छन् । मैले सानैदेखि दुःख भोगेको छु, जनताको सेवामा प्रत्यक्ष संलग्न हुुनपाइने हुँदा यो पद राज्यका अन्य पदभन्दा उपयुक्त लागेको छ । मलाई अरू पदभन्दा यही पद मन पर्छ तर आफूलाई मन परेर मात्रै भएन । सबै नगरबासीको चाहना के छ, त्यो बुझी त्यहीअनुसारको पद लिएर सामाजिक सेवामा निरन्तर लागिरहनेछु ।

प्रतिक्रिया दिनुहोस्