वन्यजन्तुप्रति विद्यार्थीको प्रेम : मरेको चित्तल राखेर राजमार्ग अवरुद्ध



न्युज अफ नेपाल, हेटौंडा ।

उक्त संरक्षित क्षेत्रमा लकडाउनयता १६ वटा मृग मृत अबस्थामा भेटिएका छन् । जहाँ पछिल्लो एक सातामा तीन वटा मृग मृत अबस्थामा भेटिए । आइतबार एउटा चित्तल मृत फेला परेसँगै यो साता तीन वटा चित्तल मृत फेला परिसकेको छ । आइतबार हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानको जंगलभित्र संरक्षित एक पोथी चित्तल मृत अबस्थामा फेला परेको छ । गर्भिणी पोथी बिहान मृत अबस्थामा फेला परेको हो । मृत फेला परेको चित्तललाई डिभिजन बन कार्यालयमा बुझाइएको छ ।

बनमा कुकुरले लखेट्दै जाँदा मृग मरेको हुनसक्ने डिभिजन बन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्यायले बताउनुभयो । ‘ कारण स्पष्ट देखिन्न,’ उहाँले भन्नुभयो, ‘कुकुरले लखेट्दै जाँदा अत्तालिएर मरेको हुनसक्छ । घाउ, चोट देखिएको छैन । उक्त क्षेत्रमा चित्तल, मृग मरेको यो पहिलो भने होइन । यस्ता घटना बारम्बार देखिन थालेपछि बनविज्ञान अध्ययन संस्थानमा अध्ययनरत् विद्यार्थी आक्रोशित बने । बन्यजन्तप्रति प्रेम दर्शाउँदै उनीहरुले बन्यजन्तु संरक्षणको माग गर्दै हेटौंडामा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरे ।

क्याम्पसभित्रका बन्यजन्तु संरक्षणमा सरोकारवालाले चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत् विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले ‘क्याम्पस प्रशासन मूर्दावाद, चित्तल/मृग मार्न पाइँदैन, यस्तो प्रशासन चाहिँदैन’ भन्ने नारा लगाएका थिए । मृत चित्तल सडकमा राखेर क्याम्पस प्रशासनविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका थिए । क्याम्पसको जंगलमा रहेका बन्यजन्तुको संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीको भनाइ छ ।

उनीहरुले क्याम्पसपरिसरको खुला क्षेत्र बन्द गरिनुपर्ने, सडक क्षेत्रको भूभाग कटाएर क्याम्पसपरिसरमा पर्खाल लगाउनुपर्ने, बन्यजन्तु संरक्षणको उचित व्यबस्था हुनुपर्ने, क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छाड्न बन्द गर्नुपर्ने लगायत माग राखेका छन् । उक्त क्षेत्रमा अब करिब ९० को हाराहारीमा चित्तल छन् । तर, पाठापाठी हरेक सिजनमा थपिने उपाध्याय बताउनुहुन्छ । ‘यस्ता जनावर अलि बढी संवेदनशील हुन्छन्,’ उहाँले भन्नुभयो, ‘घाइते भएपछि बचाउन अलि गा-हो हुन्छ । राजमार्ग क्षेत्रमा बाक्लो हुस्सु, राजमार्गमा गुड्ने सवारीसाधनको तीव्रगतिले बन्यजन्तुको मृत्यु बढिरहेको छ ।

हेटौंडालाई हरियाली प्रदान गर्ने बन क्याम्पसको बनक्षेत्र र क्याम्पसको परिसरलाई बाहिरी क्रियाकलाप र मानवीय हस्तक्षेपबाट मुक्त राख्न स्थानीय क्याम्पस प्रशासन, हेटौंडा उपमहानगरपालिका, प्रदेश सरकार, बन कार्यालयले बेलैमा विशेष योजना र नीतिसाथ अघि बढ्नु आबश्यक देखिए पनि ध्यान गएको देखिँदैन । बनडँढेलो लागेर बासस्थान नष्ट भएपछि भौतारिँदै हिँड्न मृग प्रजातिमा पर्ने यी बन्यजन्तु अझ चपेटा परेको देखिन्छ । मांसाहारी बन्यजन्तु भन्दा शाकाहारी बन्यजन्तु अझ बढी पीडामा परेको देखिन्छ । आहार र बासस्थान दुवै नष्ट हुँदा यी प्राणी र यसको खाद्यश्रृंखलामा जोडिने बन्यजन्तु प्रभावित हुनजान्छ ।

गत वर्ष चित्तल, बँदेल, रतुवा मृग, बाँदरलगायत ३७ बन्यजन्तुको मृत्युको कारण पूर्वपश्चिम राजमार्ग बनेको थियो । बारा, पर्सा र मकवानपुरका ६ सय २७ वर्ग किमी भूभाग निकुञ्जले ओगटेको छ । यातायात आवागमनका दृष्टिले अतिव्यस्त राजमार्गको करिब ४५ किलोमिटर सडक निकुञ्ज क्षेत्रभित्र छ । विसं २०४० वैशाख ५ गते घोषणा गरिएको ती भूभागको आरक्षण क्षेत्रलाई २०७४ वैशाख २५ गते राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको थियो । सरकारले तीन जिल्लाअन्तर्गत् मकवानपुरका चुरियामाई, पदमपोखरी, हाँडीखोला र मनहरिसमेत २ सय ८५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर २०६२ असार १३ गते मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो ।

गत वर्ष बन कार्यालय मकवानपुर र प्रहरीले घाइते मृगसहित ३ जनालाई पक्राउ गरेका थिए । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले हेटांैडा–१९, नेवारपानीस्थित सडकमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना. २ ह १३१५ नम्बर अटो चेक गर्ने क्रममा घाइते मृगसहित पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा हेटौंडा–१९, बस्तीपुर बस्ने वर्ष २५ का आशीष लामा, सोही ठाउँ बस्ने वर्ष २८ का सरोज तामाङ र वर्ष १९ का अनिल तामाङ छन् । उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिएको र घाइते मृगलाई जिल्ला बन कार्यालय मकवानपुरले उपचार गरी बनमै छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्