पर्वतमा चार जलविद्युत आयोजना निर्माणाधिन, दुई वटा अन्तिम चरणमा



न्युज अफ नेपाल, पर्वत ।

पर्वतमा ऊर्जाखोलाका रूपमा परिचित मोदीखोला र सेतीखोलामा निर्माणाधिन चार जलविद्युत् आयोजना दुई आयोजना अन्तिम चरणमा पुगेका छन ।

पर्वतमा  मोदीखोलामा तीन र सेतीखोलामा एक आयोजना निर्माण भइरहेका हुन् । यी आयोजनाको विद्युत् उत्पादन क्षमता ५० मेगावाट रहेको छ ।

जिल्लाको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी, तल्लो मोदी–२ र मध्यमोदी जलविद्युत् आयोजनाका साथै पैयुँ गाउँपालिकाको सेतीखोलामा सेतीखोला जलविद्युत् आयोजनाको काम धमाधम अघि बढेको छ । तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव १ मेगावाट, तल्लो मोदी–२ आयोजना १० मेगावाट र सेतीखोला साढे ३ मेगावाटका आयोजना हुन् ।

मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी आयोजना निर्माणको अन्तिम चरणमा छ । यो आयोजनाबाट उत्पादित विद्युत् चालू आर्थिक वर्षभित्रै राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य छ । आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिनुभयो ।  ३ अर्ब ५० करोडमा बन्ने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाइ लगायत कारण आयोजनाको लागत बढेको बताइएको छ ।

यस्तै, यही नदी बेसिनमा चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको छ । मध्यमोदी हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेको सो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । २ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाबाट २०७५ मंसिरमै विद्युत् उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी लगायत कारण उत्पादन अवधि लम्बिएको थियो । कुनै अवरोध नभए यो आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने कम्पनीका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ । कम्पनीले यसअघि १० मेगावाटको तल्लो मोदी–१ आयोजना सञ्चालनमा ल्याइसकेको छ । तल्लो मोदी–१ को क्यास्केड आयोजना हो । २०७४ सालमा कम्पनीले तल्लो मोदी–२ आयोजनाको उत्पादन अनुमतिपत्र लिएको थियो । मोदी बेसिनका तीनओटै आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोडिनेछ ।

यसैगरी सेतीखोलामा पैयुँखोला हाइड्रो पावर कम्पनीले सेतीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । २०७४ सालमा कम्पनीले यसको उत्पादन अनुमतिपत्र लिएको थियो । ४ दशमलव ७३ मेगावाटको भुरुन्दी खोला जलविद्युत् आयोजना भने अध्ययनकै क्रममा छ । यो आयोजना अमरावती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको छ । मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका तीन जलविद्युत् आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४ दशमलव ८ मेगावाटको मोदी खोला, १० मेगावाटको तल्लो मोदी–१ र १ मेगावाटको पातीखोेलाले विद्युत् उत्पादन गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्