ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द



ललित सिंह, बझाङ  ।

बझाङमा भाइरल ज्वरोको संक्रमण बढेसँगै विद्यालय बन्द भएका छन् । शुरुआतमा विद्यार्थीमा देखिएको भाइरल ज्वरोे समुदायस्तरमा पनि देखिन थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्दै गएको छ । शुरूमा वित्थडचिर गाउँपालिका–५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्यार्थीहरूमा भाइरल ज्वरो देखापरेको थियो ।

‘विद्यालयमा भाइरल ज्वरो फैलिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ’, विद्यालयका शिक्षक रघुवीर महरले भन्नुभयो– ‘विद्यालयमा मंगलबार एक-दुई जनामा देखिएको ज्वरो पछि सबै विध्यार्थीमा देखापरेको हो ।’विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयमा ३५ जनालाई एकैदिन यो लक्षण देखिएपछि एक हप्ता अघि गाउँपालिकाकै सुनकुडा माविका विद्यार्थीमा पनि भाइरल ज्वरोको लक्षण देखापरेको थियो ।

‘विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण तीव्ररूपमा फैलिएपछि विद्यालय बन्द गर्नुपरेको हो’, वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि अवस्थी बताउनुहुन्छ– ‘मौसममा आएको परिवर्तनसँगै विद्यार्थी मात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका विरामी बढेका छन् ।’अहिले जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोसँगै मौसमी रुघाखोकी र झाडापखालाका बिरामीहरु आउने गरेकोे जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्