रोजगारी छोडेर घर फर्किंदै नेपाली



विमल विष्ट, डोटी

पछिल्लो समय भारतबाट रोजगारी छोडेर घर फर्किने सुदूरपश्चिमेलीको लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्नका साथै सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन् ।

भारतमा कोरोना संक्रमण पुनः देखिए सँगसँगै सुदूरपश्चिमेलीको प्रमुख पर्व विशु नजिकिँदै आएकाले पनि अहिले भारतबाट रोजगारी गरी फर्किनेको सङ्ख्या बढेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । ‘भारतबाट नेपाल आएका सबै नागरिक कोरोना त्रासले आएका होइनन्, अधिकांश विशुपर्व मनाउन आएका पनि छन्, घर आउँदै गरेकासँग कोरोना जोखिम पनि हुन सक्ने भएकाले हामीले सीमा क्षेत्रमा स्वास्थ्य जाँचदेखि अन्य कुरामा पनि ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छौं ।’ – उहाँले भन्नुभयो ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएका ११ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पनि देखिएको छ । कोरोनाका कारण रोजागारी छोडेर आउनेहरु सीधै गाउँ पस्न थालेका कारण गाउँघरमा पुनः कोरोना संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले अनिवार्य क्वारेटाइनमा बस्नुपर्ने नियम बनाएका छन् । उता गृह मन्त्रालयलेसमेत क्वारेटाइनहरु तयारी अवस्थामा राख्न निर्देशनसहितको पत्राचार गरेसँगै यहाँका स्थानीय तहमा सबैले क्वारेन्टाइन निर्माणका लागि तयारी गर्न थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

कोरोना जोखिमबाट बच्नका लागि सम्पूर्ण तयारी र सावधानी अपनाउनका लागि यहाँका स्थानीय तहहरुलाई स्थानीय प्रशासनले आग्रहसमेत गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात् घर फर्किनेहरुको सीमानाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।अहिले यहाँका सीमानाकाबाट दैनिक सयौंको सङ्ख्यामा सुदूरपश्चिमेली भित्रिन थालेका छन् । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेकाले सावधानीका लागि सबै तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो ।कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजार भन्दा बढीको हाराहारीमा नेपालीहरु नोपल प्रवेश गरी रहेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट विगत दश दिनको अवधिमा कम्तीमा पनि ८ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सीमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेकोसमेत जनाएको छ । कञ्चनपुरको गड्डाचौकी, त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

‘सिमा नाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिदैन सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँच सम्बन्धि कुनै परिक्षण नहुँदा समस्या भएको छ ।’ – भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताउनुभयो ।प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई एन्टिजेन पठाइएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘सीमानाकामा सबैको एक–एक गरी स्वास्थ्य जाँच गर्न केही असहज भएका कारण सम्बन्धित स्थानीय तहले जाँच गर्ने गरी एन्टिजेन पठाइएको छ, भारतबाट आएकाहरुको सम्बन्धित स्थानीय तहमा स्वास्थ्य जाँच हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्