नागरिकले छाडे डाँडा र रुख चढ्न

दुर्गममा सञ्चार सेवा



वासुदेव शर्मा, जाजरकोट  ।

जाजरकोटका दुर्गम तीनवटा गाउँपालिका सञ्चार सेवामा जोडिएसँगै घण्टौं हिँडेर रुख तथा डाँडामा चढी फोन गर्नुपर्ने अवस्थाबाट नागरिक मुक्त भएका छन् । नेपाल टेलिकमले नयाँ टावर निर्माण गरेपछि शिवालय, जुनीचाँदे र बारेकोट गाउँपालिकामा सञ्चार सेवा सहज भएको हो ।

फोन टावर नहुँदा टेलिफोनको समस्या झेल्नुपरेका दुर्गम गाउँपालिकाका नागरिकले गाउँभन्दा बाहिर रहेको आफन्तलाई फोन गर्न घण्टौं हिँडेर र अग्लो डाँडा वा ठूला रुख खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको बारेकोट गाउँपालिका–१ का पृथ्वीराज ज्योतिले बताउनुभयो ।जाजरकोटका विभिन्न स्थानमा निर्माणाधीन सातवटा नेपाल टेलिकमका टावरमध्ये केही टावर निर्माण भएपछि पालिकाहरूमा टुजी र फोरजी सेवा सञ्चालन आएको हो । टावर निर्माणसँगै बारेकोट, शिवालय, जुनीचाँदे गाउँपालिकाका सवै वडा र छेडागाड नगरपालिकाका केही वडाका नागरिकलाई सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

सञ्चारविहीन गाउँपालिकालाई सञ्चार सेवामा जोड्न स्थानिय सरकारको निरन्तर प्रयासबाट फोन सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही बताउनुहुन्छ । विकास र सुशासनको प्रत्याभूति दिएर नागरिकलाई सम्पन्न गर्ने स्थानीय सरकारको दायित्व भएकाले विकास निर्माण कार्यलाई निरन्तरता दिएको अध्यक्ष शाहीको भनाइ छ ।स्थानीय नागरिक, गाउँपालिका, स्थानीय प्रशासनलगायत सरोकारवालाहरुको दबाबपछि टावर निर्माण भई नागरिकले सञ्चार सेवा पाएको हुन् । गाउँमा निर्माणाधीन टावरको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्