यौन शिक्षाको बिषयमा निर्णय लिन ९७ प्रतिशत युवा इच्छुक



भगवती तिमल्सिना, काठमाडौ  ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार तथा यौन शिक्षाको साथै आफ्नो सवालमा आफैंले निर्णय लिन पाउने विषयमा ९७ प्रतिशत युवाले उचित जानकारी र ज्ञान हासिल गर्न इच्छुक रहेको बताएका छन् ।महिला सशक्तिकरण तथा अधिकारका सवालमा कार्यरत संस्था वियोण्ड बेइजिङ कमिटी नेपालद्वारा आफ्नो शरीरमाथिको निर्णय आफैं लिन पाउने अधिकारको सन्दर्भमा भएको सातै प्रदेशस्तरीय छलफलमा सहभागी युवाले उक्त विषयमा जानकारी नै पाउने अवसर पाउनुपर्ने धारणा राखेको पाइएको हो ।

कमिटीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, यौन स्वास्थ्यको क्षेत्रमा युवा जागरण फैलाउने उद्देश्यले आयोजित सात प्रदेशस्तरीय भर्चुहल भेलामा सहभागी युवाले एक महिला वा किशोरीले कोसँग विवाह गर्ने, कति सन्तान जन्माउनेलगायतका विषयमा आफैं निर्णय लिन पाउनुपर्ने विषयमा भएको छलफलबाट घोषणापत्र पनि सार्वजनिक गरेको थियो ।कमिटीले यस जागरणमुलक कार्यक्रममा भएको निर्णय तथा घोषणापत्रबारे जानकारी दिन आयोजित कार्यक्रममा युथ कोर टीमका अध्यक्ष एनिका राईले प्रजनन स्वास्थ्य अधिकारका सवालमा धेरै युवा जिज्ञासु पाइएको बताउनुभयो ।

उहाँले यौन शिक्षा मात्र पर्याप्त पाए यस क्षेत्रमा देखिने विचलनलगायत प्रजनन स्वास्थ्य क्षेत्रसँग सम्वन्धीत व्यक्तिगत, पारीवारीक सामाजिक समस्या निराकरणमा सजिलो पर्ने युवाको धारणा रहेको बताउनुभयो ।कमिटीले आफ्नो निर्णय आफैंले लिन पाउनुपर्ने अवधारणा अन्तगरत महिला स्वास्थ्य क्षेत्रमा सन् २००२ देखि ‘सि डिसाइड’ शीर्षकमा काम गर्दै आएको छ ।यस अन्तरगत प्रजनन स्वास्थ्यलगायत जीवनमा हासिल गर्ने लक्ष्य उद्देश्य प्राप्तीमा समेत विवेकपूर्ण निर्णयसहित महिला÷किशोरीलाई अगाडि बढ्न प्रेरित गदै युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा अभियन्ता सान्तालक्ष्मी श्रेष्ठले ‘सि डिसाइड नेपाल’ अभियानको इन्ट्राग्राम र फेसबुक पेज सार्वजनिक गर्नुभएको थियो ।त्यसैगरी बियोण्ड बेईजिङ कमिटिका अध्यक्ष सुशिला श्रेष्ठले कमिटीले महिला सशक्तिकरणका लागि सञ्चालन गर्दै आएको हरेक गतिविधीमा युवाको सहभागिता बढाउँदै उनीहरुलाई जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।कार्यक्रममा अविरलः द आर्ट ग्रुपले नाटक, रचना दाहाल एण्ड ग्रुपले साङ्गीतिक प्रस्तुती, सि डिसाइडेड कोर टिमलगायत सहभागीहरुले मनोरञ्जनात्मक तथा रचनात्मक गतिविधीमार्फत सन्देश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्