टेलिकमको नगद लाभांश खातामा आउन थाल्यो



काठमाडौं, (नेस)  ।

नेपाल दूरसञ्चार कम्पनीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को नाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपियाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले पारित गरेको लाभांश शुक्रबारदेखि शेयरधनीको खातामा पठाउन शुरू गरिएको कम्पनीले जनाएको छ।

उक्त सभाले आर्थिक वर्ष २०७६-७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । त्यस्तै साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७७-७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउटेन्ट प्रकाशजंग थापा र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ । यसका साथै आर्थिक वर्ष २०७६-७७ मा कर तथा गैरकर वापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको छ ।आव २०७६-७७ को अन्त्सम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको छ । त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९ दशमलव ९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ । कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२ दशमलव ६९ र ४८ दशमलव ६८ प्रतिशत पुगेको छ । आव २०७६-७७ मा कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब ९९ करोड र ९ अर्ब ७५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्