मेकअप आर्टिस्टलाई कलाअनुसार पेमेन्ट छैन : टेकराज पाण्डे



लो कष्ट र संघर्षपश्चात् अर्घाखाँचीका टेकराज पाण्डे (राज पाण्डे) अहिले नेपाली कला, मोडलिङ तथा फिल्म क्षेत्रमा स्थापित मेकअप आर्टिस्टका रूपमा आफ्नो नाम बनाउन सफल भएका छन्। सानैमा मातृ वियोगको दुःख भोगेका टेकराज २२ वर्षअघि कक्षा ५ मा पढ्दापढ्दै पितृशोक खप्न बाध्य भए। जसका कारण उनले भारत गएर प्लस टुसम्मको अध्ययनसँगै कम्प्युटर मार्केटिङ, बंैकको एजेन्सी सेल्सब्वाइ, सामान प्याक गर्ने मजदुर, मेकअप स्टुडियोको सेल्स टेक्निकल ट्रेनर जस्ता काम गरे। कतारको दोहा पुगेर मजदुरी गरेपछि फेरि भारत पुगेर मेकअपसम्बन्धी प्रशिक्षण लिएपश्चात् नेपाल फर्केर मेकअप आर्टिस्टका रूपमा करियर अगाडि बढाएका पाण्डे हाल ब्युटी पेजेन्ट आयोजकसमेत बनेका छन्। कहिले म्युजिक भिडियो त कहिले फिल्म सेटमा पुगी विभिन्न कलाकार तथा मोडलको मेकअप गरेर उनीहरूलाई चम्काउँदै आएका पाण्डे दक्ष इन्टरटेनमेन्ट प्रालिमार्फत् विभिन्न सौन्दर्य प्रतियोगित आयोजना तथा राजधानीको नयाँ बानेश्वरमा राज मेकअप स्टुडियो सञ्चालन गरेर विभिन्न व्यक्तित्वको मेकअपसँगै मेकअपसम्बन्धी तालिम पनि दिइरहेका छन्। पर्दापछाडि बसेर ५ सयभन्दा बढी म्युजिक भिडियो, केही फिल्म र १ हजारभन्दा बढी विज्ञापनका कलाकार तथा मोडलहरूलाई चम्काउँदै आएका पाण्डेसँग विविधि विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

मेकअपको क्षेत्रमा कसरी आउनुभयो ?

सानैमा भारत गएर संघर्ष गरिरहेको थिएँ, पछि दाइले कति त्यहाँ बसरे दुःख गर्छस् यता आइज भन्नुभयो र दाइकै सल्लाहमा दोहा गएँ। कतारमा रहँदा निर्माता तथा संगीतकार दीपक रमणको मन परेपछि नामक फिल्म कतारमा रिलिज गरियो। मैले त्यो फिल्म्को मार्केटिङ गरें।

मेरो मेहनत देखेर उहाँले नेपालमा केही गर्न सक्नुहुन्छ भने आउनुुस् हामी वेलकम गर्छु भन्नुभयो। मलाई सानैदेखि कलाकारिता मन पथ्र्यो तर हिरो हुनका लागि हाइट थिएन। दीपकजीले पे्ररित गरेपछि अब प्रोफेसनल मेकअप आर्टिस्ट बन्छु भन्ने सोचले नेपाल फर्किएँ र मेकअप सिक्न दिल्ली गएँ। मेकअप भारतमा बस्दा पहिले पनि गरेकै थिएँ, तर दिल्लीमा राम्रै रकम खर्च गरेर मेकअप कोर्स गरी नेपाल आएर स्ट्रगल गरें।

के देखेर मेकअप क्षेत्र रोज्नुभयो ?

मलाई फिल्म क्षेत्र मन पर्ने भएकाले यही क्षेत्रमा नाम कमाउँ भन्ने लाग्थ्यो। हाइट कम भएका कारण कलाकार बन्नुभन्दा बरु मेकअप आर्र्टिस्टका रूपमा काम गरेर नाम कमाउँ भन्ने सोच आयो र यता लागें। यो क्षेत्रमा धेरै संघर्ष गरें, फल पनि पाइरहेको छु।

मेकअप आर्टमा लाग्दाखेरीको संघर्ष कस्ता थिए ?

इन्डियाबाट मेकअप सिकेर आएपछि शुरुमा मैले आफ्नै गाउँ अर्घखाँचीको सदरमुकाममा राज ब्युटी पार्लर सञ्चालनमा ल्याएँ। तर, भारतमा सिकेर आएको मान्छे यति सानो ठाउँमा बसेर काम गर्नुभन्दा आफ्नो कला अझ धेरै मानिससामु पु-याउनुपर्छ भनेर काठमाडौं आई राज मेकअप स्टुडियो सञ्चालनमा ल्याएँ। शुरुका दिनमा मेकअपको बक्स बोकेर फिल्म हुन्छ कि म्युजिक भिडियोमा हुन्छ भन्दै कामको खोजीमा हिँडे। त्यस क्रममा मलाई धेरै मानिसले काम दिनुभयो र आफ्नो सीप देखाउन पाएँ।

फिल्म, म्युजिक भिडियो र विज्ञापनको मेकअपमध्ये कुनमा सजिलो?

फिल्ममा महिनांै दिन खटेर काम गर्नुपर्छ, महिनौंसम्म पनि घरबाहिर बस्नुपर्ने हुन्छ। म्युजिक भिडियो र विज्ञापनमा भने एक÷दुई दिनको काम हुन्छ। दिउँसो काममा गए पनि बेलुका घर फर्किन पाइन्छ।

कमाइ पनि म्युजिक भिडियो र विज्ञापनमै राम्रो हुन्छ। यस कारण म्युजिक भिडियो तथा विज्ञापनमै काम गर्न सजिलो लाग्छ। कमाइको हिसाबले पनि यही फाइदाजनक छ।

कस्तो किसिमको मेकअप गर्न पाए हुन्थ्यो भन्ने लाग्छ?

अहिले नयाँ–नयाँ खालका मेकअप आइरहेका छन्। तर, नेपालमा चल्ने खालका सबै मेकअप गर्छु र सिकाउँदै पनि आइरहेको छु। म टे«निङमा ५० भन्दा बढी कन्सेप्टका मेकअप सिकाउँछु।

समय, कार्यक्रम तथा मौसमअनुसारका विभिन्न मेकअप हुन्छन्। जस्तै जाडो, गर्मी, पार्टी, हेवी पार्टी, आउटडोर, इनडोर स्विमिङ पुलका लागि वाटरप्रुफ मेकअप ग्लिटर, सिमर, स्टेज, म्युजिक भिडियो, ब्राइडललगायतका मेकअप सिकाउने गरेको छु। अब योभन्दा पनि कुनै नयाँ मेकअप गर्न मन छ।

कस्तो क्यारेक्टरमा मेकअप गर्न गाह्रो हुन्छ ?

म ब्युटी मेकअप आर्टिस्ट हुँ। यस कारण ब्युटी मेकअपअन्तर्गत पर्ने सम्पूर्ण मेकअप गर्ने खुबी मसँग छ। हुन त मेकअप कहिल्यै पनि सिकेर सकिँदैन। यो एक गहिरो कला हो। मैले आफूले सिकेका कुरा टे«निङमार्फत अरूलाई सिकाइ पनि रहेको छु। धेरै मानिस मैले राम्रो सिकाउँछ भनेर सम्झेर आइराख्नुभएको छ। पुराना ब्युटिसियनहरू पनि मसँग मेकअप सिक्न आउनुहुन्छ। यो देखेर खुसी लाग्छ।

चलेको अनुहार र नयाँ अनुहारमा कसको मेकअप पर्न सजिलो हुन्छ ?

मेरा लागि पुराना र नयाँ अनुहारको मेकअप गर्नुमा फरक छैन। तर, चलेका अनुहारलाई मेकअप गर्न अलि बढी सजिलो हुन्छ। उहाँहरूले मेकअपका बारेमा धेरै बुझिसक्नुभएको हुन्छ। तर, मान्छेको आ–आफ्नो रोजाइअनुसारको मेकअप गर्नुपर्ने हुन्छ। कसैले न्याचुरल मेकअप खोज्छन् भने कसैले हेभी मेकअप गर्न मन पराउँछन्। प्रायः नयाँले नयाँ र पुरानाले पुराना खालका मेकअप खोज्छन्। तर, म उहाँहरूको रोजाइअनुसार न्याचुरली राम्रो देखाउने कोशिस सधैं गरिरहेको हुन्छु।

अब कस्तो मेकअप गर्न बाँकी छ ?

फिल्ममा प्रयोग हुन विभिन्न खालका मेकअप जस्तै ब्लिडिङ भएको, हातखुट्टा छुटेको जस्तो देखाउने खालका मेकअप गर्न बाँकी छ। नेपालमा त्यस्ता खालको मेकअपको स्कोप पनि छैन। त्यस्तो काम भए पनि बजेट छैन। नेपालमा कम बजेटका फिल्म बन्छन्। हाई बजेटकै फिल्म बने पनि पैसा उठाउन गाह्रो हुन्छ।

इन्डियामा मेकअप आर्टिस्टले एउटै फिल्मबाट उस्तै परे १ करोड कमाउँछ। नेपालमा १ लाख कमाउन पनि गाह्रो छ। मेकअप आर्टिस्टलाई मेहनत गर्दागर्दै, उत्कृष्ट कला देखाउँदादेखाउँदै पनि मेहनतअनुसरको पेमेन्ट दिइएको छैन। यसै पनि मेकअप आर्टिस्टलाई उसको कला र मेहनतअनुसारको पेमेन्ट दिइएको छैन, दिइने भनेको पेमेन्ट उठाउनसमेत मुस्किल छ। दुःखअनुसारको प्रतिफल नपाइने हुँदा म त्यतातिर लागिनँ। मैले केही हिन्दी सिरियलमा पनि काम गरें। त्यहाँको सिरियलमा काम गर्दा पाइने रकमको आधाको आधा पनि नेपाली फिल्ममा पाइँदैन।

मेकअप आर्टिस्टका रूपमा काम गरिरहेको मान्छे, ब्युटी कन्टेस्टतिर पनि लाग्नुभयो त?

मेकअपसँगै जोडिएर अझै केही गरौं, नाम कमाउँ भन्ने सोचका साथ दक्ष इन्टरटेन्नमेन्ट दर्ता गरें। त्यहाँबाट २०७२ सालमा मिस ब्युटिफुल नेपाल इभेन्ट आयोजना गरें। भूकम्पपछिको समयमा कसरी मानिसहरू सहभागी गराउने भन्ने थियो। तर पनि ११÷१२ जना कन्टेस्टेन्टको साथमा राष्ट्रिय नाचघरमा पहिलो प्रतियोगिता सफलरूपमा आयोजना गरेपछि वर्षैपिच्छे प्रतियोगिता आयोजना गर्दै आएको छु। अहिले सिजन–६ सम्म पुगिसकेकेको छ भने मिसेस ब्युटिफुल नेपालको पाँचौं सिजन सम्पन्न भइसकेको छ।

यस्ता प्रतियोगिता पैसा कमाउनका लागि गरिन्छ रे नि?

हो, तर सबैको उद्देश्य पैसा कमाउने हुँदैन। मैले नाम कमाउँ र गुम्सिएका प्रतिभाको उजागर गरौं भन्ने उद्देश्यले मिस र मिसेस ब्युटिफुल नेपाल प्रतियोगिता गर्दै आएको छु। अर्को कुरा पैसा कमाउनु त पर्छ नै, तर पैसा कमाउने मात्र नभएर केही गरांैं भन्ने सोचको साथ अगाडि बढ्दा नराम्रो केही छैन। कुनै पनि काम गरेपछि राम्रै गरौं भन्ने सोच सबैको हुन्छ।\

यही क्षेत्रमा केही गर्ने सपना छ कि ?

इन्टरनेसनल खालका प्रतियोगिता गरौं भन्ने त सोच छ तर म आफ्नै हिसाबले विस्तारै अघि बढिरहेको छु। मलाई हतार पनि छैन र कसैको रिस र डाह पनि छैन। अरूले ओहो राम्रो खालको प्रोगाम गर्छ त्यस्तोमा सहभागी हुनुपर्छ वा स्पोन्सर गर्नुपर्छ भन्ने लेभलको कार्यक्रम पक्कै पनि ल्याउने प्रयास गर्नेछु।

 

प्रतिक्रिया दिनुहोस्