हेटौंडा बन्यो सिटी चेस च्याम्पियन



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गरेको आयोजक हेटौंडा चेस क्लबको टोलीले मकवानपुरमा सम्पन्न सिटी चेस च्याम्पियनसिपको उपाधि हात पारेको छ । शनिबार सम्पन्न सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकामाथि ४–० को जित निकालेको हेटौंडाले समग्रमा १३ म्याचप्वाइन्ट बनाउँदै उपाधि जित्न सफल भएको हो । दुई साताअघि भक्तपुरमा सम्पन्न अन्तर नगरपालिका कपको विजेता रहेको हेटौंडा टोलीले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त ग-यो ।

दोलखा जिल्ला बुद्धिचाल संघको टोली नाइट चेस क्लब काँकडभिट्टा झापालाई ३.५–०.५ हराउँदै दोस्रो स्थान हासिल गर्न सफल भयो । ७ खेलबाट १२ अंक बनाएको दोलखाले १ लाख ५० हजार नगद हात पा-यो । ललितपुर महानगरपालिका टोली इलामको गजुरमुखी चेस क्लबमाथि ३.५– ०.५ को जित आत्मसात् गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

ललितपुरका अर्का दुई टोली ललितपुर स्पोर्टस् क्लब तथा महालक्ष्मी नगरपालिका क्रमशः चौथो तथा पाँचौं स्थानमा रहन सफल भए । तेस्रो, चौथो तथा पाँचौं स्थानमा रहेका टोलीले क्रमशः ५० हजार, ३० हजार तथा २० हजार नगद प्राप्त गर्न सफल भए । व्यक्तिगत् बोर्डतर्फ बिदुर नगरपालिका नुवाकोटका युवा खेलाडी आश्चर्य चौधरीले पहिलो बोर्डमा शत्प्रतिशत् नतिजा हात पार्दै पहिलो हुन सफल भए ।

दोलखाका फिडेमास्टर मनिष हमाल दोस्रो बोर्डमा उत्कृष्ट ठहरिए । तेस्रो, चौथो तथा पाँचौं बोर्डमा हेटौंडाको वर्चश्व रह्यो । तेस्रो बोर्डमा शुरवीर लामा, चौथोमा फिडेमास्टर रुपेश जयसवाल तथा पाँचौंमा अर्का फिडेमास्टर क्षितिज भण्डारी पहिलो हुन सफल भए । सबै बोर्डका उत्कृष्ट खेलाडीले जनही दश हजार नगद प्राप्त गरे ।

हेटौंडा चेस क्लब तथा मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा चैत ११ देखि शुरु प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महत, बागमती प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल बुद्धिचाल संघ अध्यक्ष एकालाल श्रेष्ठलगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्