जीवन शैली र शुक्रकीटको गुणस्तर



– डा. राजेन्द्र भद्रा

म ३५ वर्षको भएँ र श्रीमान् ४२ वर्ष । उहाँ निकै मोटो हुनुहुन्छ, मदिरा र धूमपान पनि गर्नुहुन्छ । पहिले तत्काल सन्तान नजन्ममाउने निर्णय गरेकोमा अहिले केही समयदेखि सन्तानको लागि प्रयासरत छौँ तर गर्भ रहन सकेको छैन । वीर्यको परीक्षण पनि गरायौँ । पर्याप्त शुक्रकीट नभएको र भएकाकोमा पनि स्वरुप ठीक नभएको थाहा भयो । डाक्टरले तौल घटाउन, धूमपान–मद्यपान नगर्ने सल्लह दिनुभएको छ । के यस्ता कुराले शुक्रकीटमा असर गर्दछ ? जानकारी दिनुभए आभारी हुने थिएँ ।

–निशा, ललितपुर

 

हामीले आधुनिक जीवन शैलीको सन्दर्भमा कुरा गर्दा हृदय रोग, मृगौला रोग जस्ता नसर्ने रोगको वारेमा चर्चा गर्ने गरेको पाइएता पनि यौन तथा प्रजनन सक्षमताको सन्दर्भमा भने खासै चर्चा गरेको पाउँदैनौं । वास्तवमा आधुनिक जीवनशैलीले वीर्य तथा शुक्रकीटको गुणस्तरलाई प्रभाव पारिरहेको हुन्छ ।

वीर्य, शुक्रकीट र यसको गुणस्तर

पुरुषको यौन उत्तेजनालई निरन्तरता दिँदा यौन प्रतिक्रिया चक्रको तेस्रो चरण अर्थात् चरम सुख (orgasm) पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई वीर्य (semen) भनिन्छ । एकपल्ट वीर्य स्खलन हुँदा ३ देखि ५ मि.लि. (१ चिया चम्चा जति) निस्कन्छ । यही वीर्यमा नै शुक्रकीटहरु हुन्छन् ।

मूत्रथैलीको मुनितिर दुईतिर वीर्यथैली हुन्छन् । यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा करिब ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा सो भन्दा पनि कम हुन्छ । वीर्यको रंग सामान्यतया सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको पनि हुन सक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ । वीर्य स्खलन हुनासाथ यो केही वाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम शुरु हुन्छ । रासायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेश्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुवव्यस्थित गर्नको लागि आवश्यक थुप्रै रसायनहरु हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्यथैलीमा आएर बसेका हुन्छन् र वीर्य स्खलन हुँदा रसको साथै बाहिर निस्कन्छ ।

पुरुषको सन्दर्भमा पिता बन्ने वा नबन्ने कुरा शुक्रकीटमा भर पर्दछ । शुक्रकीटको गुणस्तरको कुरा गर्दा यो आवश्यक मात्रामा हुनुको साथै स्वस्थ (स्वरुप तथा गतिशीलताको सन्दर्भमा) पनि हुनुपर्छ । वीर्यमा हुने शुक्रकीटहरुका संख्या सधैँ एकैनासको नहुन सक्छ । तर यसको संख्या ४ देखि १२ करोड प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ ।

हामीले देख्ने वीर्यको सानो अंश मात्रै शुक्रकीटको मात्राले ओगटेको हुन्छ । शुक्रकीट निकै नै साना हुन्छन् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ । सामान्यभन्दा कम शुक्रकीटको संख्या हुनुलाई संख्या कम भएको भन्न सकिए पनि चिकित्सकीय दृष्टिकोणले अर्थात् शुक्रकीट कम भएको (Oligospermia) भन्न प्रतिमिलिलिटर वीर्यमा २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ । अहिले त २ करोडसम्मलाई सामान्य भन्न थालिएको पाइन्छ । एकपल्ट वीर्य परीक्षण गराएपछि यसको बारेमा थाहा भइहाल्छ ।

एकै स्थानमा बसिरहनेभन्दा शारीरिक परिश्रमयुक्त क्रियाकलापमा संलग्न हुने व्यक्तिहरूको शुक्रकीटको गुणस्तर राम्रो हुने देखिएको छ ।

शुक्रकीटको संख्यामा कमी हुनुको कारण

अहिले विकासका नाममा भएका कतिपय क्रियाकलापको कारणले हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । जस्तो– धेरै शारीरिक परिश्रम नगरी एकै स्थानमा लामो समय बस्ने प्रवृत्ति बढेको छ । अहिले पहिरन पनि पहिलाभन्दा फरक भएको छ । त्यस्तै हामी कीटनाशक विषादीको बढी सम्पर्कमा आएका छौं । यस्तै अहिले वनस्पतिको भन्दा जनावरको स्रोतवाट प्राप्त चिल्लो पदार्थको प्रयोग बढेको छ । शहरी वातावरणमा विभिन्न रासायनिक प्रदूषणयुक्त वातावरणमा बढी समय बस्न थालेका छौँ । अहिले हर्मोनको प्रयोग गरिएका पशुपक्षीजन्य खाद्यपदार्थको सेवनमा पनि वृद्धि भएको पाइन्छ । शरीरको स्वरुप निश्चित प्रकारको बनाउन होस् वा उपचारको क्रममा, औषधिको प्रयोग पनि बढेको छ ।

पश्चिमी मुलुकमा गरिएका अध्ययनहरूले गत ४ दशकमा मानिसको शुक्रकीटको संख्यामा ५० देखि ६० प्रतिशतसम्म कमी आएको देखाएको छ । यसको कारण यो नै हो भन्न नसकिए पनि विभिन्न रसायनको सम्पर्कमा आउनु, धूमपान गर्नु, बरोबर कीटनाशक विषादीको सम्पर्कमा आउनुजस्ता जीवनशैलीमा भएका परिवर्तन नै मुख्य कारण हुन सक्ने देखिएका छन् । त्यसैले शुक्रकीटको गुणस्तरमा कमी आउनु अर्थात् यसको संख्यामा कमी हुनु वा यसको गतिशीलता, स्वरुप इत्यादिमा समस्या पर्नुका अनेक कारण हुन सक्छन् । यी मध्ये कतिपय हाम्रा जीवनशैलीसँग पनि जोडिएका हुन्छन् ।

राम्ररी शुक्रकीटको उत्पादन हुन हाम्रो शरीरको भन्दा २ देखि ३ सेन्टिग्रेट कम तापक्रम हुनुपर्दछ । अहिलेको जीवनशैलीमध्ये कतिपय कुराले यसमा समस्या पार्न सक्छ । लामो समयसम्म बढी तापक्रम भएको स्थानमा बस्ने वा काम गर्ने, टाइट भित्री वा बाह्य वस्त्र लामो समयसम्म लगाउने, ल्यापटप काखमा राखेर धेरै बेर काम गर्ने, इलेक्ट्रिक ब्ल्याङ्केटले वा अन्य तरिकाले बिछ्यौना निकै तातो बनाएर सुत्ने, तातो पानीको बाथ टबमा धेरै बेर बस्ने, ज्याकुजीमा बस्ने, साउना बाथ लिने आदिले शुक्रकीटको उत्पादनमा नकारात्मक असर पार्दछ ।

अहिले हाम्रो जीवनशैलीमा आएको परिवर्तनमा भोजन एक महत्वपूर्ण कुरा हो । प्रशोधित मासु, तारेका खानेकुरा, धेरै चिल्लो भएका दुग्धजन्य पदार्थ, क्याफिन, रक्सी तथा चिनी धेरै भएका भोजनले शुक्रकीटको गुणस्तरमा कमी आउने देखाएको छ । अहिले भोजनमा आएको परिवर्तनको कारणले नै हामीमध्ये कतिपयमा मोटोपनको समस्या छ । यसको पनि प्रजनन कार्यमा नकारात्मक असर हुन्छ । एकै स्थानमा बसिरहनेभन्दा शारीरिक परिश्रमयुक्त क्रियाकलापमा संलग्न हुने व्यक्तिहरूको शुक्रकीटको गुणस्तर राम्रो हुने देखिएको छ । अहिलेको जीवनशैली भागदौडपूर्ण र तनावपूर्ण छ । जागिर वा पेसाको कामसम्बन्धी, परीक्षा, कसैको मृत्यु वा सामाजिक दुःखपूर्ण घटनाका साथै वातावरणीय विपद्को कारणले हुने तीव्र तनाव होस् वा दीर्घकालीन तनावले शुक्रकीटको गुणस्तरमा नकारात्मक असर पार्दछ ।

हामीलाई थाहै भएको कुरा हो कि उमेर बढ्दै गएपछि शुक्रकीटको गुणस्तरमा कमी आउने गर्दछ र अहिलेको जीवनशैलीको प्रभावले नै हामीले विवाह गर्ने तथा सन्तान जन्माउने उमेर पनि बढी बनाएका छौं ।

लागूऔषध दुव्र्यसन, विभिन्न रसायनको सम्पर्कले पनि प्रजनन कार्यमा नकारात्मक असर पर्छ । लिड, क्याडमिअम वा आर्सनिक (Lead, cadmium वा arsenic) को दीर्घकालीन सम्पर्कले शुक्रकीट उत्पादनमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसै गरीे प्रत्यक्षरुपमा नै हामीले हर्मोनयुक्त पदार्थको सेवन गर्ने वा हर्मोनको प्रयोग भएको पशुपन्छीजन्य खाद्यपदार्थको सेवन गर्दा पनि यसको प्रभाव शुक्रकीटको गुणस्तरमा पर्दछ । कतिपय उपचारको क्रममा विकिरण र औषधिजन्य रसायनको प्रयोग हुन्छ । गुणस्तरीय शुक्रकीटको उत्पादनमा यसको पनि नकारात्मक प्रभाव पर्न सक्छ ।

के गर्न सकिएला ?

माथि उल्लेख गरिएका कतिपय कुरा व्यक्तिको आफ्नो नियन्त्रणभित्र नै हुने गर्दछ तर सकारात्मक जीवनशैली अपनाउनको लागि प्रयत्न गर्नुपर्दछ ताकि शुक्रकीटको गुणस्तर कायम रहोस् । कतिपय वातावरणीय प्रदूषण र रसायनको प्रयोगको बारेमा भने नियन्त्रण एक व्यक्तिमा नहुन सक्छ तर यसको विरुद्ध आवाज उठाउने, बहस जारी राख्ने तथा वकालत गर्ने गर्नुपर्दछ । यसले गर्दा सरकारले सही निर्णय लिन बाध्य होस् र नियमनकारी संयन्त्रलाई क्रियाशील बनाउन सकोस् ।

प्रतिक्रिया दिनुहोस्