मुटुले सिकाएका पाठहरु



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

मुटु शरीर चलाउने यन्त्र मात्रै होइन, यसका केही दार्शनिक पक्षहरु पनि छन् । मुटुले गर्ने काम, यसलाई लाग्ने रोग, बच्ने उपायहरु अनि यसका विविध पक्षहरुबारे बुझ्दै जाँदा यसले असाध्यै महत्वपूर्ण पाठहरु पनि सिकाइरहेको थाहा हुन्छ । यस्ता केही महत्वपूर्ण पाठहरुबारे यहाँ वर्णन गरेको छु ।

१. जीवन गति हो

जीवन एक प्रकारको गति हो भन्ने पाठ मुटुले सिकाएको छ । जीवन त नियमितरुपमा चलिरहने गति न हो । जन्म र मृत्युबीचको समय नै जीवन हो । मुटु निरन्तर धड्किरहन्छ । जब मुटु धड्िकन बन्द हुन्छ, पम्प गर्न छोड्छ अनि मुटुको गति रोकिन्छ, जीवन पनि समाप्त हुन्छ । जबसम्म मुटुको गति छ, तबसम्म जीवन छ ।

जीवनको गतिका तीन पाटाहरु छन्– शरीर, मस्तिष्क (चिन्तन) र कर्म । शरीरको गति भन्नाले व्यायाम भन्ने बुझौं । मुटुको गतिसँगै शरीरको गति रहिरहन्छ । त्यस्तै चिन्तनको गति, सोचाइको गति पनि त्यत्तिकै निरन्तर माथिल्लो तहमा पुग्नुपर्छ । खालि भइरहन पनि हुँदैन । त्यस्तै कर्म अर्थात् कामको गति पनि निरन्तर जारी रहनुपर्छ । एकैनासले रहिरहनुहुँदैन । हरेक दिन नयाँ काम सिक्ने, जान्ने, बुझ्ने प्रयास जारी राख्नुपर्छ । जीवन एउटा गति हो, हरेक दिन गतिशील हुनुपर्छ भन्ने पाठ मुटुले सिकाएको छ ।

२. निःस्वार्थ सेवा गर

मुटुले निःस्वार्थ सेवा गर्न प्रेरित गर्दो रहेछ । मुटुले निरन्तर रगत पम्प गर्छ । रगतमा अक्सिजन, ग्लुकोज, भिटामिन र अन्य पौष्टिक तत्वहरु भरेर रगतलाई विभिन्न अंगमा पुर्‍याउँछ, जसले गर्दा ती अंगहरुले राम्ररी काम गर्न सक्छन् । दिमाग, श्वासप्रश्वास र पाचन प्रणाली सक्रिय बनाउन, क्रियाशील राख्न, स्वस्थ राख्न, मुटुले काम गरिरहेको हुन्छ । आफूले अरु अंगलाई निरन्तररुपमा जीवित राख्नका लागि मुटुले निःस्वार्थरुपमा काम गरिरहेको हुन्छ । शरीरका हरेक कोषलाई चाहिने खाद्य सामग्री र अक्सिजन पुर्‍याउनका लागि काम गरिरहेको हुन्छ । जीवनमा सबैले अरुका लागि निःस्वार्थ सेवा गर भनेर मुटुले सन्देश दिइरहेको छ ।

हरेक दिन नयाँ काम सिक्ने, जान्ने, बुझ्ने प्रयास जारी राख्नुपर्छ । जीवन एउटा गति हो, हरेक दिन गतिशील हुनुपर्छ भन्ने पाठ मुटुले सिकाएको छ । 

३. बढी संग्रह नगर्नू

मान्छे त नामका लागि, धनका लागि खटिइरहन्छ । त्यसैको पछि लागिरहन्छ । धन आर्जन गर्ने क्रममा आवश्यकभन्दा बढी कमायो भने पनि त्यसले रोगी बनाउँछ । आवश्यक नभएको वस्तु अरुलाई प्रयोग गर्न दिनुपर्छ । अनावश्यक संग्रह गरेर राख्नुहुँदैन भन्ने सन्देश मुटुले दिइरहेको छ ।

मुटुले रगत पम्प गर्ने क्रममा शरीरमा रगत आदानप्रदान गर्छ । सञ्चालन गर्छ । मुटुमा भेनस सिस्टमबाट जति रगत आउँछ, त्यसमध्ये ५० प्रतिशत मात्रै आफूसंँग राख्छ । ५० प्रतिशत बाहिर पठाउँछ, ताकि अरु अंगमा पनि रगत पुगोस् । यो क्रम निरन्तर रहन्छ । प्रत्येक धड्कनमा मुटुको बायाँ पट्टिको भागमा ५० प्रतिशत रगत रहन्छ र बाँकी ५० प्रतिशत बाहिर पठाउँछ । जति धेरै रगत मुटुले बाहिर पठाउँछ, त्यति नै मुटुको लागि राम्रो हुन्छ । त्यसैले आफूलाई जति चाहिने हो त्यति मात्र राखेर, बाँकी अरु अंगका लागि मुटुले पम्प गर्छ । मुटुले आफ्नै लागि भनेर ५० प्रतिशतभन्दा बढी राख्यो भने रगतको मात्रा बढी भएर मुटु आफैं कमजोर बन्दै जान्छ र अन्त्यमा मुटु नै फेल हुन्छ । मुटुले आफूलाई चाहिनेभन्दा बढी रगत राख्यो र अरुका लागि थोरै मात्र रगत पम्प गरेर पठायो भने, आफैं सुन्निदै जान्छ । यति राम्रो पाठ सिकाएको छ कि, जति आवश्यक छ त्यत्ति मात्रै राख । आफूलाई चाहिनेभन्दा बढी संग्रह नगरी अरुका लागि बाँड, ताकि त्यसले तिमीलाई नै फाइदा गरोस् ।

४. जीवनका दुई पक्ष छन्

असल र खराब, शान्त र उत्तेजित, सकारात्मक र नकारात्मक, यी जीवनका फरक पक्ष हुन् । स्नायु प्रणालीमा पनि शान्त र उत्तेजित गर्ने दुई थरी प्रणाली हुन्छ । स्नायु प्रणालीको सिम्प्याथेटिकले उत्तेजित बनाउँछ र प्यारा सिम्प्याथेटिकले शान्त बनाउँछ । जीवनका दुई पाटालाई सन्तुलनमा राख्न सक्नुपर्छ । सन्तुलन कायम राख्न सकिएन भने रोगी बनिन्छ भन्ने मुटुले सिकाउँछ । कसरी त ?

मुटुमा भेनस र आर्टरी सिस्टम हुन्छ । शरीरमा प्रयोग भएको रगतमा अक्सिजनको कमी भएर कार्बनडाइअक्साइडले भरिएपछिको रगतलाई भेनस ब्लड भनिन्छ । यस्तो रगत फोक्सोमा गएर शुद्धीकरण भएपछि आर्टरियल ब्लड बन्छ । भेनस र आर्टरियल ब्लडको सन्तुलन कायम राख्न फोक्सोले काम गर्छ । यी दुई प्रकारका रगत एक–आपसमा मिसिनुहुँदैन । रगत सन्तुलित भयो भने जीवन अगाडि बढ्छ । सन्तुलित भएन भने

रोगी बन्छ । त्यसैले मुटुले सिकाउने अर्को पाठः हर–कोहीको जीवनमा दुई–दुई पक्ष छन् । सन्तुलित बनाएर अघि बढ्न सक्नुपर्छ ।

५. जीवनदातालाई सम्मान गर्नुपर्छ

हामी आफ्ना मातापितालाई सम्मान गर्छौं । डाक्टर, गुरुलगायत जीवन जोगाउने र अगाडिको बाटो देखाउनेलाई आदर–सम्मान गर्छौं । जीवनदातालाई उचित सम्मान, माया, प्रेम र आदर गर्नुपर्छ भन्ने पाठ पनि मुटुले सिकाइरहेको छ । खासमा मुटु आफैं पनि त जीवनदाता हो । यसले हामीलाई जीवन दिएको छ । यसको चलायमानमा नै जीवन छ । मुुटुलाई सम्मान गरिएन, स्वस्थ रहन अनुशासित भइएन, यसको अनुकूल जीवनशैली, खानपिन, आहार, व्यवहार, चिन्तन गरिएन भने जीवन पनि नाश हुन्छ । मुटुमा रोग लाग्छ, रक्तचाप बढछ, हृदयघात हुन्छ र जीवनको अन्त्य हुन सक्छ । त्यसैले आफूलाई सहयोग गर्ने, जीवन प्रदान गर्ने जो छ, त्यसलाई उचित सम्मान, आदर र प्रेम गर्नुपर्छ भन्ने पाठ हामीलाई मुटुले सिकाएको छ ।

मुटु आफू त चलिरहेको छ नै । यसले शरीरमा रहेर थुप्रै दार्शनिक पाठहरु पनि सिकाइरहेको छ । सिक्नुपर्ने महत्वपूर्ण पाठहरु पढाइरहेको छ । मुटुले दिएका सन्देश अनुशरण गर्न मात्रै सकियो भने पनि शरीर स्वस्थ राख्नुका अतिरिक्त जीवनलाई सार्थक बनाउन प्रेरणा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्