कविता : बल्ल सबैको मन जित्यो !



– प्रकाश सिग्देल  ।

बल्ल सबैको मन जित्यो !
पल्लारे काइँलो बित्यो
घाटमा पुगेपछि बल्ल
सबैको मन जित्यो
भन्दै थिए इमान्दार थियो
आदर्शको अटल पहाड
नेतृत्वको दह्रो मियो
कस्तो निष्ठुरी दैव
फुल्दै गरेको फूललाई
मायै नमानी चुँडाइदियो
बाचुञ्जेल सास्ती सहे
दुनियाको नजरमा तारो भए
दुष्ट–भ्रष्टहरुको बीचमा
ती आँखाले सकेनन् पर्गेल्न
कति गाह्रो भयो होला है ?
त्यो बेलाको संघर्षलाई झेल्न
इमान्दारता जिउँदो छँदा
दिदैनन् कसैगरी बाँच्न
मरेपछि जुट्छन् जय जय कारमा
गोही र मान्छेमा फरक के छ ?
संवेदनहीन आँसु नझारेकै वेश
किन दुखाउनु मृतात्मा बेकारमा ?

प्रतिक्रिया दिनुहोस्