रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे महेश बस्नेत



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले ओली समूहका सांसद महेश बस्नेतले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटेका छन् । पछिल्लो राजनीतिक घटना क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै, समर्थनका लागि जसपाले राखेका सर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको जसपाको महन्त ठाकुर पक्षले बताउँदै आएको छ । रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको विषय जसपाका मुख्य मागहरु हुन् ।

रेशम चौधरीलाई ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्