धुलिखेल अस्पतालमा ६२ वर्षिय पुरुषको निधन, मृत्युपछि कोरोना पुष्टि



मोतीराम तिमल्सिना, काभ्रे ।

निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाई भए पछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना भएका दोलखा विगु गाउँपालिकाका ६२ बर्षिय एक पुरुषको कोभिडका कारण निधन भएको छ ।

‘निमोनियाको लक्षण देखिए पछि दोलखाबाट धुलिखेल अस्पताल आईपुग्नु भएका उहाँको उपचार हुँदा हुँदै निधन भयो’–धुलिखेल अस्पतालका आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘२०७७ चैत्र ११ गते राति ९ बजे भर्ना हुनु भएका उहाँको १२ गते दिउसो निधन भएको थियो । निधन पछि उहाँमा कोभिडको शंका लागेर परिक्षण गर्दा मृत्र्यु पर्यन्त कोभिड पत्ता लागेको हो ।’ निधन पश्चात कोभिड पुष्टी भए पछि शवलाई नेपाली सेनाले सुरक्षा सहित अन्त्येष्टी गरिएको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ भने अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएकोछ ।

जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोनाको संक्रमण पुनः फैलन थालेकाले सचेतना बढाउन स्थानीय पालिकाहरुलाई अनुरोध गरिएको बताउनु भयो । कमाण्ड पोष्टमा बसेको बैठकले सभा सम्मेलन गर्ने सन्दर्भमा ध्यान पु¥याउन र सामाजिक दुरी कायम राखी नागरिकहरुको सुरक्षामा ध्यान दिन अनुरोध गरेको उहाँले बताउनु भयो । फागु पूर्णीमा तथा अन्य संघ संस्थाहरुको कार्यक्रम दिनानुदिन भईरहेकाले संक्रमण थप फैलन सक्ने तर्फ सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा ३ हजार ३ सय ७५ जना संक्रमण भएका छन् भने ६२ जनाले ज्यान गुमाएका छन् । जिल्ला बाहिरका १७ र जिल्ला भित्रका ४५ जना नागरिकले कोभिडकै कारण ज्यान गुमाएको डा. झाले जानकारी दिनु भयो । कोभिड खोप लगाउनेको संख्या जिल्लामा २३ हजार ६ सय ३५ रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७ रहेको छ । सबै जना होम आईसोलेसनमा उपचारार्थ छन् ।

प्रतिक्रिया दिनुहोस्