पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न जोड



काठमाडौं, (नेस)

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर साहबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराउँदै नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको हुँदा नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उहाँले राजदूत साहलाई सुझाव दिनुभयो ।

चीनले नेपाललाई आठ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उहाँले जानकारी गराउनुभयो । अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स—सेलर्स मिट’ गर्न प्रस्ताव गर्नुभयो ।नेपालका लागि पाकिस्तानका राजदूत साहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्नुभयो ।

पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो व्यक्त गर्नुभएको थियो । चेम्बर पदाधिकारी र राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाईका बारेमा पनि विवेचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्