राजस्व चुहावट नियन्त्रणका लागि सबै शक्ति प्रयोग गर्न निर्देशन



काठमाडौं, (नेस)  ।

राजस्व चुहावट नियन्त्रणका लागि सबै शक्ति प्रयोग गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जोड दिनुभएको छ । उहाँले राजस्व चुहावटप्रति सहिष्णु हुन नसकिने बताउनुभयो । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले सो धारणा राख्नुभएको हो ।

उहाँले राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक ढंगले काम गर्न सम्बद्ध निकायका अधिकारीलाई निर्देशनसमेत दिनुभयो । ‘निर्दोष नपरुन् र दोषीले उन्मुक्ति नपाउन’ अर्थमन्त्रीको भनाइ थियो । स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले प्रणालीमा रहेका कमजोरीलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।त्यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले सरकारी निकायबीच सूचना आदानप्रदान गर्न आवश्यक रहेको बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको जानकारी दिँदै आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सचेत रहन आवश्यक भएको बताउनुभयो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट रोक्न नियमित रुपमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताउनुभयो । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले चुहावटमा संलग्नविरुद्ध पनि कडाइका साथ कारवाही भइरहेको बताउनभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्