नेपालको ग्रीड पूर्वाधारको स्तरोन्नति गर्ने जिम्मा जीईले पायो



नेपाल समाचारपत्र, काठमाडौं ।

जीइ रिन्युएवल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाईएसइजीइ) ले खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित तीन वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरु (जीआईएस) स्तरोन्नति गर्नेे जिम्मा पाएको छ । नेपाल विद्युत प्राधिकरणले जीईद्वारा प्रस्तुत प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

यी आधुनिक सब–स्टेसनले काठमाडौभन्दा बाहिर रहेका घर परिवारमध्ये अहिलेसम्म बिजुलीको उपभोग गर्न नपाएकाहरुलाई विद्युत् उपभोग गर्ने अवसर प्रदान गर्नेछन् । जीइले स्तरोन्नति गर्ने जिम्मा पाएको तीन वटा जीआईएस सब–स्टेशनको क्षमता २२० किलो भोल्ट (केभी) बाट ४४० किलो भोल्ट (केभी) बनाउने रहेको छ । जुन नेपाल दक्षिण एसिया उप–क्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा हो ।

यस आयोजनाले नेपाललाई छिमेकी मुलुकहरूसँग बिजुलीको व्यापार गर्न पनि सहयोग पु¥याउनेछ । परियोजनाको नेतृत्व नेपाल विद्युत प्राधिकरणले गर्नेछ र लगानी एसियाली विकास बैंक र नेपाल सरकारको रहनेछ । ‘यो परियोजना नेपालको सम्पूर्ण भूभागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने हाम्रो लक्ष्यलाई पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम हो । सबै नेपालीहरुलाई विद्युत उपभोगको पहुँचमा ल्याउने र बिजुली व्यापारको सम्भावना पनि स्थापित गर्ने हाम्रो आधारभूत उद्देश्य हो ।’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो ।

हिउँदको याममा हुने बिजुली अभावको कारण नेपालले वर्षौंसम्म लोडसेडिङ खेप्नु परेको थियो । प्राधिकरणले बितेका वर्ष मा देशको विद्युतीय ऊर्जाको क्षेत्रमा उलेख्य सुधार गरेको छ । यद्यपि, बिजुली उत्पादन स्थलदेखि भारबहन केन्द्रहरुसम्म अवरोधरहित र सहज विद्युत् आपूर्तिका लागि प्रसारण प्रणालीको क्षमता निरन्तर बढाउन जरुरी हुन्छ । सन् २०१६ मा सरकारले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने र बढी भएका बिजुली छिमेकी मित्रराष्ट्रहरुमा बिक्री गर्ने योजना अघि बढाएको थियो । यी योजनाहरुले देशको प्रसारण प्रणालीको तत्कालै विस्तार तथा स्तरोन्नति गर्नु पर्ने आवश्यकता औंल्याइएको थियो ।

जीइज् ग्रीड सोलुसन्स, दक्षिण एशियाका अध्यक्ष तथा सीइओ पिताम्बर शिवनानीले भन्नुभयो –‘नेपालको प्रसारण पूर्वाधार स्तरोन्नति गर्ने कार्यमा प्राधिकरणसँग सहकार्य गर्न पाएकोमा हामीले गौरवको अनुभूति गरेका छौं । विश्वभरका ९० प्रतिशतभन्दा बढी विद्युतीय उपकरण जीइको ग्रीड प्रविधिका साथ जडित छन् । हाम्रो सब–स्टेनशहरुले अत्यन्त आधुनिक ग्रीड प्रविधि प्रयोग गर्दछन् जसमा छिटोछरितो प्रसारण, व्यापक भार नियन्त्रण र सही समय अनुगमन जस्ता फाइदाहरु समाविष्ट हुन्छन् । यी सब–स्टेशनहरुले नेपाली जनताहरुका लागि स्थीर र भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता प्रदान गर्नेछन् ।’

जीइको ग्यास इन्सुलेटेड सब–स्टेशन(जीआइएस) प्रविधि विश्वकै सबैभन्दा आधुनिक सब–स्टेशन प्रविधि मध्येको एक हो । एयर इन्सुलेटेड सब–स्टेशन (एआइएस) को दाँजोमा ७० प्रतिशत कम जमिन भए पुग्छ । नेपालको यो स्तरोन्नति आयोजनाको लागि आवश्यक सम्पूर्ण उपकरणहरु जिइको ग्रीड सोलुसन्सको अत्याधुनिक नवीनतम प्रविधिको कारखानामा उत्पादन गरिनेछन् र त्यहींबाट आपूर्ति पनि गराइनेछ । यी कारखाना भारतको पडाप्पाइ, होसुर, नोयडा र पल्लवरममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्